काठमाडौं, २३ असोज(बीबीसी) काठमाडौं, २३ असोज(बीबीसीबाट) इजरेल र प्यालेस्टाइनबीचको द्वन्द्व चुलिँदा नेपालका १० जना कृषि वैज्ञानिकले ज्यान गुमाएपछि उनीहरूका परिवारजन अथाह शोकमा परेका छन्c
नेपाल सरकारले मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको छ।
पूर्वमा सुनसरीको स्वर्णकार परिवार होस् कि धनुषाको शाह परिवार या सल्यानका भण्डारी परिवार- उनीहरू अनाहकमा ज्यान गुमाएका आफ्ना दिवङ्गत प्रियजनको अन्तिम दर्शनको पर्खाइमा देखिन्छन्।
छोरा बङ्करमा लुकेको विश्वासमा थिइन् प्रवेशकी आमा

प्रवेश भण्डारीको परिवार
तीन दिन अघि आइतवार बिहानै सल्यानकी चण्डीका भण्डारीले छिमेकी जीवराज केसीबाट इजरेलमा नेपाली विद्यार्थी बस्ने ठाउँ नजिकै हमला हुँदा कतिपय विद्यार्थी सम्पर्कविहीन भएको खबर पाइन्।
कतै सुदूर पश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका विद्यार्थीहरू त परेनन् भन्ने आशङ्का पलायो।
अनि त्यसमा पनि कतै आफ्नो छोराहरू त परेनन् भनेर मनमा चिसो पस्यो।
बहिनी शोभालाई सामाजिक सञ्जाल फेसबुक खोलेर हेर्न भनिन्। बहिनीले फेसबुकमा इजरेलमा भएका हमलाबारेका खबरहरू छ्यापछ्याप्ती पाइन्।
त्यसपछि उनले सुर्खेतको मेहलकुनामा रहेकी छोरीलाई भाइको बारेमा सोधिन्। छोरीले भाइ शनिवार बिहानदेखि अनलाइनमा नआएको बताइन्।
त्यसपछि उनको मनमा बेचैनी बढ्न थाल्यो। प्रवेशसँग भिडियो कल र फोन गर्ने प्रयास गरे। सम्पर्क हुन नसकेपछि कतै बङ्कर तिर लुकेका होलान् भन्ने ठानेको उनी बताउँछिन्।
आइतवार दिनभरि प्रवेशसँग सम्पर्क नभएपछि बहिनीकी छोरी अनुप्रियाले इजरेलमा सँगै रहेका प्रवेशका साथी प्रमोद केसीलाई फेसबुकमा खोजिन्। सम्पर्क हुनासाथ दादा खै भनेर म्यासेज गरिन्।
प्रमोदले उनलाई बचाउन नसकिएको जानकारी दिएपछि परिवारमा धैर्यको बाँध फुट्यो।
मङ्गलवार कुरा हुँदा प्रवेशले आमालाई शुक्रवार पाँच घण्टा मात्र काम हुने बताएका थिए। उनले त्यसपछि आमासँग कुरा गर्न आफूसँग समय हुने भएकाले इन्टरनेट भएको सानीमाको घरमा जान भनेका थिए।
आमा चण्डिका छोराको भिडियो कलको प्रतीक्षा गरेर शुक्रवार रातीसम्म बहिनी शोभाको घरमा बसेकी थिइन्।

प्रवेश भण्डारी
प्रवेशले आफ्नो काम नसकिएकाले आमासँग शनिवार दिउँसोतिर कुरा गर्ने बताएका थिए।
तर शनिवार बिहानै हमास समूहले इजरेलमा आक्रमण गरेपछि उनी सम्पर्कमा आएनन्।
शनिवार रातीसम्म अनलाइनमा आउने प्रतीक्षामा बसेका बुवाआमाले “कतै बङ्करमा लुकेर बसेको” ठानेको बताए।
प्रवेश मारिएको खबर कानमा परेपछि आमा चण्डिका मुर्छा परिन्। अहिले उनी सम्हालिन खोज्छिन् तर सक्दिनन्।
“छोराको याद आइरहन्छ। कस्तो सपना थियो। त्यो सपना चकनाचुर भयो, उनी भन्छिन्, “के गर्ने यस्तो दिन पनि आउँदो रहेछ। मैले सपनामा पनि यस्तो देखेको थिइनँ।”
“यदि त्यस्तो सपना देखेको भए किन छोरालाई त्यहाँ जान दिन्थेँ होला र? बरु गरिबै हुँदो हुँ। के गर्ने दैवको लीला कसैले मेट्न सक्ने रहेनछ। जे भए पनि सहेर बस्नु पर्दो रहेछ। पछाडि जान सकिँदो रहेनछ,” उनले भनिन्।
प्रवेशको ११ महिनापछि घर फर्केर लोक सेवा आयोगको तयारीमा जुटेर एक वर्षभित्रै कृषि अधिकृतमा नाम निकाल्ने लक्ष्य रहेको आफन्त बताउँछन्।
नेपाल फर्केर रोजगारी दिने योजना

इजरेलमा सिकेको ज्ञान, सीपलाई प्रयोग गरेर कृषि फर्म खोलेर धेरैलाई रोजगारी दिने उनको सपना थियो।
प्रवेशले इजरेल उड्दा आफ्नो फेसबुकमा बाई बाइ नेपाल लेखेर पोस्ट गरेका थिए । अहिले त्यही पोस्टलाई सम्झँदै सानीमा भक्कानिइन्।
प्रवेशकी सानीमा शोभा भन्छिन्, “किन बाबुले फेसबुकमा बाई बाइ नेपाल लेख्यो होला । त्यो लेखेर बाबुले सधैँको लागि हामीलाई छाडेर गयो।”
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत प्रवेश ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २६ गते ११ महिनाको लागि इजरेल गएका थिए।
गाउँ भरी रुवाबासी छ। गाउँलेहरू शोकमग्न छन्। बुबाआमालाई सान्त्वना दिन र सम्झाउन आउनेहरू आफै सम्हालिन सक्दैनन्।
सङ्घर्ष गरेर पढाएका थिए

केही नबिराउने, कसैसँग नरिसाउने, घमण्ड नगर्ने, निकै मिलनसार, सहयोगी र दयालु स्वभावका भएकाले उनी गाउँलेहरूका निकै प्रिय रहेको आफन्त सम्झन्छन्।
एक जना छिमेकीले भने, “सबैले रुचाएको, सल्यान जिल्लाकै मुटु, बलियो खम्बा हामीबीच रहेन। भाग्यले हो कि कलेजले इजरेल पुर्यायो। उतै अस्तायो। ”
सानैदेखि प्रवेश पढाइमा अब्बल थिए। कक्षामा उनी सधैँ पहिलो हुन्थे। गाउँकै ज्योतिकुन्ज एकेडमीबाट पढाइ थालेका उनी एसएलसीमा भने २०७२ सालमा सल्यान जिल्ला प्रथम भएका थिए।
पढाइमा राम्रो भएकाले बुवाआमाले पनि ज्याला मजदुरी, ऋण सापट, खेती किसानी गरेर, आफू भोकै बसेर धेरै दु:ख सङ्घर्ष गरेर पढाएका थिए।
पढाइको लागि उनीहरूले छोरालाई केहीमा पनि कमी हुन दिएनन् ।तर ११ कक्षादेखि बीएस्सीएजीसम्म उनले छात्रवृत्तिमा पढेकाले पनि आर्थिक भार कम भएको आमा चण्डिकाले बताइन्।
आफूहरूले खेती किसानी गरे पनि छोरालाई भने पढाएर आफ्नो खुट्टामा उभिन सक्षम बनाउने सपना आमाबुबाले देखेका थिए।
कमजोर आर्थिक अवस्था भए पनि दिदी भिनाजुले धेरै सङ्घर्ष गरेर छोरालाई पढाएको शोभा बताउँछिन्। अब प्रवेशकी दिदी मात्र छन्।

लामो कुरा गर्ने चाहना अधुरै
“बुबाआमाले पढेर जागिर खानु भएन। म पढेर कृषिको हाकिम हुन्छु। कृषि फर्म खोलेर धेरैलाई रोजगारी दिन्छु भनेर प्रवेशले भन्थे।”
मङ्गलवार पनि आमालाई ढाडस दिँदै प्रवेशले भनेका थिए, – आमा राम्रोसँग औषधी खानु, केही चिन्ता नलिनु। तपाईँहरूका सुखका दिनहरू आउँदैछन्। अब म कमाउने भइसकेँ। घर फर्केर बिहे गर्छु। राम्रो घर बनाएर तपाइँहरूलाई राख्छु।
मङ्गलवार बुबाआमा र सानीमा तथा शुक्रवार दिदीसँगका कुराकानी नै उनको अन्तिम पटकका कुराकानी भएका थिए।
उनीहरूले बीबीसीसँग भने, – “सास ल्याउन सकिएन। सरकारले लास छिटो ल्याइदिएको भए हुन्थ्यो।”
सुनसरीका राजेशकुमार स्वर्णकार

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनस्थित स्वर्णकार परिवारमा केही दिन यता सन्नाटा छाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको लौकही चोकबाट करिब ५ किलोमिटर उत्तरमा पर्ने मधुवन बजार नजिकै घर भएका राजकुमार स्वर्णकारका चार छोरामध्ये साइँला २६ वर्षीय राजेशकुमार स्वर्णकार इजरेलमा भएको आक्रमणमा मारिएको खबर फैलिएपछि स्वर्णकारको घर छिमेक शोकमा डुबेको छ।
आफन्त, शुभचिन्तक र गाउँलेहरूको आउजाउ बढेको छ।
इजरेलमा छोरो मारिएको खबरले राजेशकी आमा कैलाशदेवीको होस हवास उडेको छ।
बेला बेलामा छोरो राजेशलाई के भयो भनेर डाँको छोड्छिन्।
मधुमेह र उच्च रक्तचापका बिरामी राजेशका बुबा राजकुमार निकै भावुक देखिन्थे।
ऋणपान गरेर पढाएको छोराले कमाउने बेला अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै उनी भक्कानिए ।
टिनले छाएको घर अगाडिको गाई गोठमा टोलाइरहेका राजकुमारले छोरालाई पढाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको बताए।
उनले भने यस्तो अवस्था आउला भन्ने अनुमान गरेको भए छोरालाई विदेश जान दिन्नथेँ।
उनलाई कलेजको लापरबाहीले आफ्नो छोराको ज्यान गएको जस्तो लाग्छ।
उनले भने, “विद्यार्थी पठाउँदा कलेज र सरकारले कस्तो ठाउँमा जाने हो, त्यहाँको सुरक्षा अवस्था के कस्तो छ भनेर विचार गर्नुपर्थ्यो।”
खानेपानी कार्यालयका जागिरे उनी विद्यार्थीहरूलाई नेपालमै भएका कृषि अनुसन्धान केन्द्रहरूमा त्यस किसिमको इन्टर्नशिप गराउन सरकारलाई सुझाव दिन्छन् ।

अस्ट्रेलिया जान चाहन्थे राजेश
इजरेल जानु अघि राजेशले अस्ट्रेलिया जान चाहेका थिए। कृषि विज्ञानमा बीएस्सी सकेपछि राजेशले अस्ट्रेलिया जाने विषयमा आफूसँग परामर्श गरेको दाजु मुकेश बताउँछन्।
भाइले अस्ट्रेलिया जान लाग्ने खर्च र प्रक्रियाबारे बुझिदिन आग्रह गरे पनि आफ्नो कार्यव्यस्तताले त्यसबारे सल्लाह गर्न नपाउँदै एक्कासी इजरेल जाने तयारी गर्न विश्वविद्यालयले ताकेता गरेको उनले बताए।
“११ महिने इन्टर्नशीप सकेर फर्किएपछि बिहे गर्ने र अस्ट्रेलिया जाने भाइको योजना थियो,” दाजु मुकेशले भने।
राजेशका जेठा दाजु मुकेशका अनुसार उनी पढाइमा अब्बल थिए। प्राथमिक तहसम्म गाउँमै अध्ययन गरेका राजेशले कक्षा ९ र १० सुनसरीको सदरमुकाम इनरुवामा गएर पढे।
प्लस टु पढ्न उनी विराटनगर आए। विराटनगरको शिक्षादीप कलेजमा प्लस टु सकेपछि उच्च शिक्षाका लागि उनी काठमाण्डू पुगे। त्यसपछि उनले करिब चार वर्ष लगाएर कैलालीको टिकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायतर्फ बीएस्सी अध्ययन सकेका थिए।
राजेशका दाजु मुकेश स्वर्णकार भन्छन्, “भाइको पढाइ राम्रो भएकाले छात्रवृत्ति पनि पाएको थियो। त्यसपछि उनीहरूको टोलीलाई इन्टर्नशीपका लागि विश्वविद्यालयले इजरेल पठाएको थियो।”
गत भदौ २४ गते इजरेलतर्फ उडेका राजेशले त्यहाँ सुनसान क्षेत्रमा आफूहरूलाई राखिएको बताएका थिए।
इजरेलमा मारिएका राजेशको शव चाँडै ल्याइदिन परिवारले सरकारसँग आग्रह गरेको छ।
धनुषाका आनन्दकुमार शाह

धनुषाका आनन्दकुमार शाह इजरेलमा मारिएका १० नेपालीमध्ये एक हुन्।
धनुषाका सोमन शाहले आफ्नो एक्लो छोराले ज्यान गुमाएको खबर पाएका छन्।
छोराको मुख हेर्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ।
शोकमा रहेका उनले सन्तान पढाउन आफूले विगतमा गरेको सङ्घर्ष सम्झिँदै भने, “दश वर्ष विदेशमा काम गरेँ मैले। छोराछोरीलाई पढाउन अलिकति जग्गा समेत बेचेँ। तीन जना छोरीमध्ये एक जनाको बिहे भइसकेको छ। दुई जना छोरी पढिरहेका छन्। एउटा छोरा थियो दुनियाँबाट खोसिदिए।”
उनका छिमेकी सञ्जयकुमार शाहले बताए, “गाउँको किसानको के हुन्छ? दुई चार कट्ठा जमिन छ। कमाएर आफू नखाएर बच्चालाई पढाएको थियो। तीन जना छोरी छन् एउटा छोरा थियो।”
सोमन साहले भने, “सीडीओसाप आउनुभएको थियो। तपाईँको इच्छा के छ भन्नुभयो। मैले भनेँ मेरो बच्चाको मुख देखाइदिनुस्। त्यही इच्छा छ।”


















