ललितपुर, १२ बैशाख । पाटन उच्च अदालतबाट एन्फाविरुद्ध परेको मुद्दाको अन्तरिम आदेशलाई कायमै गर्नु नपर्ने फैसला भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा( को निर्वाचन २२ वैशाखमा हुने भएको छ।
यसअघि, गत १४ चैतका लागि तय भएको एन्फा निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिएको भन्दै भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघका प्रतिनिधिले ८ चैतमा पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले उनीहरूलाई सहभागी नगराई निर्वाचन नगराउन अन्तरिम आदेश दिएपछि १४ चैतको निर्धारित निर्वाचन स्थगित भएको थियो।
त्यसपछि दुवै पक्षलाई निर्वाचनमा आउनका लागि एन्फाले दुवै जिल्लामा निर्वाचन गरेपछि प्रतिनिधि छनोट भइसकेका थिए। दुवै जिल्लाको निर्वाचनपछि गत ६ वैशाखमा एन्फाले अन्तरिम आदेश र मुद्दा खारेजीको माग गर्दै लिखित जवाफ र निवेदन दर्ता गराएको थियो। जसको सुनुवाइ गर्दै अदालतले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको हो।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र विष्णुप्रसाद कोइरालाको इजलासले एन्फाको निर्वाचन रोक्न दिइएको यसअघिको आदेश खारेज गरका हुन्।
एन्फा निर्वाचन कार्यसमितिले २२ वैशाखका लागि निर्वाचन गर्ने गरि एन्फा सचिवालयलाई पत्रचार गरेको थियो।
आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुँदैछ।


















