Prakash Adhikari October 28, 2023

काठमाडौं, ११ कार्तिक । गैरआवासीय नेपाली संघको (एनआरएनए) राजकुमार (आरके) शर्माले नेतृत्व गरेको कार्यसमितिले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक प्रतिनिधिहरुले सहमतिमा शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेका थिए । शर्मा नेतृत्वको समितिले अधिवेशन सम्पन्न गरिएको कागजपत्रसहितको निवेदन पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो ।

उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेस गरिएको छ ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरु दुई जना उम्मेदवार आरके शर्मा र महेशकुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गर्नुभएको थियो ।

सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसीलगायतले सपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्द सत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको शर्मा समूहको दाबी छ ।

आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ । परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबारमात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.