लण्डन(संयुक्तअधिराज्य),२१ बैशाख । बेलायतमा बिहिबार भएको स्थानीय निर्वाचनमा लण्डनको बार्नेट काउन्सिलबाट उम्मेदवार बनेका नेपाली लक्ष्य गुरुङ विजयी भएका छन् ।
लण्डनको बार्नेट काउन्सिलको हेल वार्डबाट गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदको उम्मेदवार बनेका थिए । वार्डमा सबै कन्जरभेटिभ पार्टीले विजयी हासिल गरेको छ ।गुरुङले ३००७ मत प्राप्त गरेका थिए ।
गुरुङ १३ वर्ष अघि कास्कीबाट बेलायत आएका हुन् । बेलायतको बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष समेत रहेका उनी गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको पूर्व उपसंयोजक हुन्। उनलाई केही समय अघि मात्रै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रय समन्वय परिषदले गोर्खा सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको थियो।
उनले भूपू गोर्खाजको बिषय सहित,नेपाली समाजका लागि कम्युनिटीहल उपलब्ध गराउने, नेपाली बालबालिकालाई निशुल्क नेपाली पढाउने र बृद्धहरुलाई अंग्रेजी कक्षाको व्यवस्थापन गर्ने योजना अगाडि सारेका छन् ।
गत महिना गुरुङको चुनावी अभियानमा बेलायती प्रधानमन्त्री टेरिजा मे समेत सामेल भएकी थिइन्।
चुनावी प्रचार प्रसारका क्रममा प्रधानमन्त्री मेले गुरुङलाई विजयका लागि शुभकामना समेत दिएकी थिइन्।