Prakash Adhikari February 7, 2024

इस्लामावाद(पाकिस्तान), २४ माघ(बीबीसी) । पाकिस्तानमा भोलि संसदीय निर्वाचन हुँदै छ । विगतमा तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफ भोलि हुने निर्वाचन जित्न सक्ने बलियो उम्मेदवार मानिएको छ।

विगत तीन दशकमा उहाँ पाकिस्तानको राजनीतिमा अधिकांश समय प्रभावशाली बन्नुभयो। तर गत वर्ष स्वैच्छिक निर्वासन टुङ्ग्याउँदै स्वदेश फर्कदा उहाँ सत्तामा फर्किन सक्ने अनुमान कमै व्यक्तिले गरेका थिए होलान्।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि उहँले पद गुमाउनुभयो। त्यसअघि उहाँलाई सेनाले अपदस्थ गरेको थियो।

पाकिस्तानमा लामो समयसम्म उहाँलाई शक्तिशाली सेनाको विपक्षीका रूपमा हेरिएको थियो। अहिले उहाँ राजनीतिक पुनरागमनको सँघारमा भए जस्तो देखिन्छ। आफ्नो पुनरागमन शरिफका लागि नाटकीय उपलब्धि हुने छ।

“उहा निकै लोकप्रिय भएर हैन, सही तरिकाले राजनीतिक चाल चलेका कारण भावी प्रधानमन्त्रीको प्रबल दाबेदार बन्नुभएको हो”, अमेरिकी थिङ्कट्याङ्क ‘विल्सन सेन्टर’का दक्षिण एशिया निर्देशक माइकल कुगल्मनले भन्नुभयो।

शरिफका कट्टर प्रतिद्वन्द्वी तथा विगतमा सेनाको साथ पाएका पूर्वप्रधानमन्त्री इमरान खान अहिले जेलमा हुनुहुन्छ । खानको लोकप्रिय पार्टीमाथि देशभरि प्रतिबन्ध लगाइएको छ।

नवाज शरिफः सत्ता, जेल र निर्वासन
शरिफलाई ूपुनरागमनका राजाू भन्न सकिन्छ। पहिला पनि उहाँ राजनीतिमा फर्किनुभएको थियो।

आफ्नो दोस्रो कार्यकालमा सन् १९९९ मा उहाँ सैन्य कूका कारण सत्ताबाट बाहिरिनुभयो। तर सन् २०१३ को निर्वाचनमार्फत् फेरि तेस्रो पटक प्रधानमन्त्री बन्दै शक्तिमा फर्किनुभयो।

पाकिस्तानका लागि त्यो एउटा ऐतिहासिक क्षण थियो किनभने सन् १९४७ मा स्वतन्त्र भएयता त्यहाँ प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित कुनै सरकारले त्यस्तै अर्को सरकारलाई सत्ता हस्तान्तरण गरेको त्यो नै पहिलो पटक थियो।

तर शरिफको तेस्रो कार्यकाल निकै कठिन थियो। राजधानी इस्लामाबादमा विपक्षी दलले छ महिना गरेको नाकाबन्दीदेखि भ्रष्टाचारको अभियोगसम्म उहाँले थुप्रै चुनौती सामना गर्नुपर्‍यो।

भ्रष्टाचार अभियोगमा अन्ततः सन् २०१७ को जुलाई महिनामा सर्वोच्च अदालतले उहाँलाई अयोग्य ठहर गरिदियो र त्यसलगत्तै राजीनामा दिनुभयो।

सन् २०१८ को जुलाई महिनामा उहाँलाई अर्को अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्‍यो र १० वर्षको जेल सजाय सुनायो। तर दुई महिनापछि अदालतले अन्तिम निर्णय नभएसम्मका लागि सजाय निलम्बन गरेपछि उहाँलाई रिहा गरियो ।

सन् २०१८ को डिसेम्बरमा शरिफ फेरि भ्रष्टाचार मुद्दामा जेल पर्नुभयो। साउदी अरबमा उहाँको परिवारको स्वामित्वमा रहेका स्टील मिलसँग सम्बन्धित मुद्दामा उहाँ दोषी ठहर हुनुभयो।

त्यसपछि उहाँले ब्रिटेनमा उपचार गर्न जानुपरेको भन्दै धरौटीमा छुट्ने प्रयास गर्नुभयो। सन् २०१९ मा उहाँ धरौटीमा निस्किएर लन्डन जानुभयो।

त्यहाँ उहाँ चार वर्षसम्म एउटा विलासी फ्ल्याटमा बस्नुभयो। उहाँ गत अक्टोबरमा मात्र पाकिस्तान फर्किनुभएको हो।

आफू सशरीर उपस्थित नहुँदा पनि उहाँ विगत ३५ वर्षदेखि पाकिस्तानका अग्रणी नेतामध्ये एक हुनुहुन्छ।

जेनरल जिया उल हकका चेला
नवाज शरिफ सन् १९४९ मा लाहोरमा एक प्रख्यात उद्योगपतिको परिवारमा जन्मिनुभयो। एउटा सहरी निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दै उहाँ राजनीतिमा स्थापित हुनुभएको हो।

शरिफलाई सन् १९७७ देखि १९८८ सम्म पाकिस्तानमा शासन गरेका सैन्य नेता जेनरल जिया उल(हकबाट कृपादृष्टिप्राप्त चेला मानिन्छ। विदेशमा शरिफलाई सन् १९९८ मा पाकिस्तानमा पहिलो आणविक परीक्षणको आदेश दिने नेताका रूपमा चिनिन्छ।

जेनरल जियाको सैन्य कानुन लागु गरेपछिका प्रारम्भिक दिनमा शरिफ पहिलो पटक राष्ट्रिय राजनीतिमा चर्चामा आउनुभयो। उहाँ सन् १९८५ देखि सन् १९९० सम्म पञ्जाब प्रान्तको अर्थमन्त्री र त्यसपछि मुख्यमन्त्री बन्नुभयो।

त्यस अवधिमा उहाँ प्रभावशाली राजनीतिक व्यक्तित्वभन्दा पनि कुशल प्रशासकको रूपमा चिनिनुभयो।

उहाँ सन् १९९० मा प्रधानमन्त्री बन्नुभयो। तर सन् १९९३ मा उहाँको सरकारलाई बर्खास्त गरियो र तात्कालिक विपक्षी नेत्री बेनजिर भुट्टोले सरकार बनाउनुभयो।

शरिफ इत्तेफाक नामक स्टील मिल समूहका मालिक हुनुहुन्छ। उहाँ पाकिस्तानकै धनी उद्योगपतिमध्ये पर्नुहुन्छ।

सैन्य कू र मुद्दा

शरिफ सन् १९९७ मा सजिलै बहुमत प्राप्त गरेर फेरि प्रधानमन्त्री बन्नुभयो। देशमा सेनाबाहेक सबै संस्थाहरूमा उहाँको बलियो पकड बन्यो।

संसद्‌मा विपक्षीहरूबाट दिक्क भएर उहाँले शरिया कानुन लागु गर्न आफूले अधिकार पाउने गरी शरिफले संविधानमा संशोधन गर्ने प्रयास गर्नुभयो। उहाँले अन्य दुई शक्तिकेन्द्रसँग सङ्घर्ष गर्नुभयो। उहाँका समर्थकहरूले सर्वोच्च अदालतमा तोडफोड गरे र उहाँले पाकिस्तानको शक्तिशाली सेनामाथि अङ्कुश लगाउने प्रयास गर्नुभयो।

तात्कालिक सेना प्रमुख परवेज मुशर्रफले शरिफलाई सन् १९९९ मा पदच्युत गरिदिएपछि पाकिस्तानमा सेनाको प्रभाव सीमित पार्ने प्रयास कति खतरनाक कुरा हो भन्ने देखियो।

शरिफ पक्राउ परे र जेल जानुभयो। उहाँलाई अपहरण र आतङ्कवादसँग सम्बन्धित अभियोगमा जन्मकैद सुनाइयो। उहाँ भ्रष्टाचारमा दोषी ठहरिनुभयो र उहाँलाई आजीवन राजनीतिक गतिविधि गर्न रोक लगाइयो।

तर साउदीहरूले मध्यस्थता गरेको भनिएको एउटा सम्झौताले उहाँ र उहाँको परिवारका सदस्यलाई जेल जान जोगायो। सो सम्झौताअनुसार शरिफ र उहाँको परिवारका ४० सदस्य १० वर्षका लागि निर्वासनमा गएको ठानिन्छ।

बीबीसीका तात्कालिक इस्लामाबाद संवाददाता ओवन बेनटका अनुसार शरिफ सत्ताबाट हट्दा धेरै पाकिस्तानीहरूले उहाँ भ्रष्ट, अक्षम र सत्तामोह भएका व्यक्ति भनी ठूलो राहत महसुस गरेका थिए ।

भ्रष्टाचार गरेको आरोप

तर सन् २००७ मा सैन्य शासकहरूसँग एक सम्झौता गरी उहाँ भव्य रूपमा पाकिस्तान फर्कनुभयो। स्वदेश फर्किएपछि उहाँ धैर्यपूर्वक प्रतिपक्षमा बस्नुभयो। सन् २००८ को निर्वाचनमा उहाँको पीएमएल(एन पार्टीले पाकिस्तानको संसद्‌मा झन्डै एकचौथाइ सीट जित्यो।

सन् २०१३ मा पनि उहाँले अनुमान गरेभन्दा ठूलो मतान्तरले चुनाव जित्नुभयो। उहाँले राजनीतिक रूपमा महत्त्वपूर्ण पञ्जाब प्रान्तमा भूतपूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टीले दिएको कडा चुनौती सामना गर्नुभयो।

तर सत्तामा आएपछि शरिफले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै खानको पीटीआई पार्टीले इस्लामाबादमा छ महिनासम्म अवरोध गर्‍यो। त्यस बेला सार्वजनिक वृत्तमा त्यस्तो अवरोध सेनाको इन्टर सर्भिसेज इन्टेलिजन्स (आईएसआई) का केही अधिकारीहरूको उक्साहटमा गरिएको चर्चा चलेको थियो ।

विश्लेषकहरूका अनुसार सेनाले शरिफलाई त्यसरी दबाव दिन खोजेको थियो। सैन्य संस्थापनले शरिफलाई भारतसँग व्यापारिक सम्बन्ध विस्तारको प्रक्रिया अगाडि बढाउन रोक्न खोजेको मानिन्छ।

शरिफले आफ्नो तेस्रो कार्यकालमा नयाँ पूर्वाधार विकास गरी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाई पाकिस्तानलाई एशियाको बाघ बनाउने वाचा गर्नुभएको थियो। तर समस्याहरू बढ्दै गए।

उहाँको कार्यकालमा सुरु भएको बहुचर्चित चीन पाकिस्तान आर्थिक कोरिडोर देशको कमजोर अर्थतन्त्रको कारण अड्किएको छ। झन्डै ५६ अर्ब अमेरिकी डलर लागतको उक्त परियोजनामा खासै ठूलो प्रगित हुन सकेको छैन।

सन् २०१६ को प्यानमा पेपर्स प्रकरणमा नाम मुछिएपछि उहाँमाथि सर्वोच्च अदालतले छानबिन सुरु गर्‍यो। उहाँको परिवारले लन्डनमा केही अपार्टमन्ट किन्दा गरेको कारोबार र उहाँको सम्पत्तिबारे प्रश्न उठ्यो। शरिफले सबै आरोप अस्वीकार गर्दै ती सबै राजनीतिक रूपमा प्रेरित रहेको दाबी गर्नुभयो।

सन् २०१८ जुलाई ६ मा पाकिस्तानको एउटा अदालतले उहाँलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्‍यो र १० वर्षको जेल सजाय सुनायो।

सजाय सुनाउँदा शरिफ भने लन्डनमा हुनुहुन्थ्यो। त्यहाँ उहाँकी पत्नीको उपचार भइरहेको थियो ।

सोही मुद्दामा शरिफका छोरी र ज्वाइँलाई पनि दोषी ठहर गरिएको थियो।

इमरान खान प्रधानमन्त्री पदमा रहुन्जेल शरिफ लन्डनमै बस्नुभयो।

खानको कार्यकाल पनि विवादरहित बन्न सकेन र उहाँको सेनासँगको सम्बन्ध बिग्रिँदै गयो ।

सन् २०२२ मा संसद्‌बाट खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएपछि उहाँको सरकार ढल्यो र नवाफ शरिफका भाइ शहबाज शरिफको नेतृत्वमा नयाँ सरकार बन्यो।

सन् २०२३ अक्टोबरमा शरिफ पाकिस्तान फर्किनुभयो। अहिले उहाँविरुद्ध लागेका मुद्दाहरू सेलाइसकेका छन् र हिजो उहाँलाई पदबाट हटाएको सेनाले नै आज उहाँलाई स्वीकारेको जस्तो देखिन्छ।

इमरानको पतनसँगै पाकिस्तान फर्किएपछि शरिफ राजनीतिक गतिविधिमा व्यस्त हुनुहुन्छ। आसन्न निर्वाचनमा उहाँको पार्टीले जितेमा उहाँलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ।

तर उहाँको जित निश्चित भने छैन। धेरैले शरिफ र उहाँको पार्टीलाई पाकिस्तानलाई आर्थिक सङ्कटमा पारेको दोष दिन्छन् र विगतका भ्रष्टाचारको आरोपले उहाँको लोकप्रियता निकै घटेको छ।

“उनीहरूले चुनाव त जित्लान् तर शरिफले पहिला एक पटक ल्याएको बेलाबाहेक पाकिस्तानको निर्वाचनमा कुनै पार्टीले एकल बहुमत ल्याएको छैन”, च्याटम हाउससँग आबद्ध डा फरजाना शेखले भन्नुभयो, “सबै कुराले उनी प्रधानमन्त्री वा सबैभन्दा ठूलो दलको नेताको रूपमा राजनीतिमा आउने सङ्केत गर्दै छन्। तर बहुमतको अवस्था भने कस्तो हुन्छ भन्ने अनिश्चित नै छ ।”

 चौथो पटक प्रधानमन्त्री !

पाकिस्तानको राजनीतिमा अहिले अस्थिरता छ। वर्तमान अवस्थामा शरिफले आफूलाई तीन कार्यकाल प्रधानमन्त्री भइसकेको अनुभवी नेताका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले देशको अर्थतन्त्र सुधार्ने र देशलाई सही बाटोमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

“उहाँका समर्थकहरूले शरिफको अनुभव र स्थिरताप्रतिको प्रतिबद्धताका कारण मत आउने र सेनालाई आफूसँग वा कम्तीमा आफ्नो पार्टीसँग सजिलो पार्ने आशा राखेका छन्”, कुगल्मनले भन्नुभयो।

तर विश्लेषकहरू भने ढुक्क छैनन्। किनभने शरिफका सामु थुप्रै चुनौती छन्। देशको अर्थतन्त्र सङ्कटमा छ र त्यसका लागि धेरैले उहाँकै पार्टीलाई दोष दिएका छन्। साथै उहाँको मुख्य प्रतिद्वन्द्वी नै जेलमा रहेकाले निर्वाचन निष्पक्ष हुनेमा आशङ्का छ।

“उहाँ सङ्घर्ष गरिरहनुभएको छ। उहाँका भाइले नेतृत्व गरेको पार्टी यसअघिको गठबन्धन सरकारमा ठूलो साझेदार थियो। त्यसले एकपछि अर्को आर्थिक नीतिहरू लागु पर्नुपर्‍यो र त्यसबाट ठूलो हानि पुगेको छ”, डा शेखले भन्नुभयो, “शरिफ र उहाँको पार्टीलाई देशमा विद्यमान सङ्कटका लागि हैन भने पनि आर्थिक दुरवस्थाका लागि दोषी मानिन्छ।”

फेरि पाकिस्तानको सत्ता र शासनमा सेनाको ठूलो प्रभाव छ।

विदेशमा हुँदा शरिफ बेलाबेला सेनाविरुद्ध बोलिरहनुहुन्थ्यो।

देशमा व्याप्त अस्थिरताका लागि विशेष गरी गुप्तचर निकाय आईएसआईका पूर्वप्रमुख तथा पूर्वसेनापतिलाई उनी दोष लगाउँथे। तर उनीहरूले त्यस्तो आरोपको खण्डन गरेका छन्।

शरिफले न्यायपालिकाको पनि कडा आलोचना गर्दै आउनुभएको थियो । न्यायाधीशहरूले मिलेमतो गरेको र आफूलाई झुटो मुद्दामा फसाइएको उहाँको दाबी थियो। त्यसैले पाकिस्तानमा प्रजातन्त्र कमजोर बनेको र कुनै प्रधानमन्त्रीले पनि कार्यकाल पूरा गर्न नपाएको उहाँको धारणा थियो।

सेनाले भने नवाज शरिफ वा इमरान खान वा अन्य कुनै नेताको विषयमा केही टिप्पणी गरेको छैन। सेनाको आधिकारिक भनाइ ‘आफू राजनीतिमा संलग्न नहुने’ भन्ने छ ।

तर बाहिरबाट हेर्दा शरिफले सेनासँग कुनै न कुनै सम्झौता गरेको जस्तो विश्लेषकहरू ठान्छन्।

“उहाँले स्वदेश फर्किएपछि धेरै कानुनी सहुलियत पाएको तथ्यले उहाँलाई न्यायपालिकामा ठूलो प्रभाव राख्ने सेनाबाट कृपादृष्टि पाएको सङ्केत गर्छ”, कुगल्मनले भन्नुभयो।

त्यसलाई उहाँ शरिफको सफलतामा देखिएको ‘ठूलो विरोधाभास’ मान्नुहुन्छ।

“पाकिस्तानमा तपाईँ नेता हुनुहुन्छ र तपाईँलाई सघाउन सेना छ भने चुनावमा तपाईँको सफलताको सम्भावना अझ बढी हुन्छ”, उहाँले भन्नुभयो।

Share Now