-विज्ञान कार्की
काठमाडौं, २५ माघ । नेपालमा रग्बी खेलको विकासको लागि नेपाल विद्यालय खेलकुद महासंघ ,इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडेरेशन (आइएसएफ) र नेपाल रग्बी एसोसिएसनबिच त्रिपक्षीय संझौता सम्पन्न भएको छ ।
देशभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा रग्बी खेलप्रति आकर्षण जगाउन यस खेलको प्रवर्द्धन गर्ने ऐतिहासिक त्रिपक्षीय संझौतामा नेपाल विद्यालय खेलकुद महासंघको तर्फबाट अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल रग्बी एसोसिएसनको तर्फबाट दीपक देवकोटा, इन्टरनेशनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीले हस्ताक्षर गर्नुभएको थियो ।
राष्ट्रिय खेलकूद परिषदको कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा राखेप निमित्त सदस्यसचिव प्रकाश कुसारी, संस्थाका पदाधिकारी, उपाध्यक्ष मोहनकुमार कार्की, सचिव सविनराज रेग्मी, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे र नेपाली खेलकुद समुदायका प्रमुख व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यस पहलले विद्यार्थीहरूलाई रग्बी तालिम, कोचिङ र प्रतिस्पर्धात्मक अवसरहरूमा पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ । यस खेलका माध्यमबाट गर्दा नेपालभरका युवाहरूमा शारीरिक तन्दुरुस्ती, टिमवर्क र खेलकुदप्रति आकर्षण बढ्दै जाने विश्वास तीनै संस्थाका पदाधिकारीहरुले व्यक्त गरेका छन् ।
संझौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव एवम् इन्टरनेशनल स्कुल स्पोर्ट फेडेरेशन (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “यो सहकार्य नेपाली युवाहरूको खेलकुदको क्षितिज विस्तार गर्ने हाम्रो प्रयासमा एउटा महत्वपूर्ण कदम हो। खेलले अनुशासन, लचिलोपन र सम्मान जगाउँछ, र हामी यसलाई हाम्रो विद्यालयका खेलकुद कार्यक्रमहरूमा एकीकृत र अन्तराष्ट्रियकरण गर्न उत्साहित् छौ।”
आइएसएफसँगको सहकार्यमा रग्बी इभेन्ट (दक्षिण एसियाली, महादेशीय र विश्व च्याम्पियनसिप) को लागि आवेदन गर्ने, प्रस्ताव कार्यान्वयन गर्ने ,रग्बी पूर्वाधारको विकास गर्ने, विद्यालय परिसरभित्र रग्बी पूर्वाधारको विकास र अवसरको बृद्धि गर्ने , विद्यालयका विद्यार्थीहरूमा खेलकुद र स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन अन्तर विद्यालय रग्बी प्रतियोगिताहरू आयोजना गर्ने जस्ता सकारात्मक कामहरु हुने जनाइएको छ।
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालेले रग्बीले नेपालमा युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, “रग्बी एउटा खेल मात्र होइनस यसले बहुमूल्य जीवन कौशल र मूल्यहरू सिकाउँछ जुन खेल मैदानभन्दा बाहिर फैलिन्छ। नेपाल स्कूल खेलकुद महासंघसँग मिलेर काम गरेर, हामीले रग्बीको दायरालाई फराकिलो बनाउदै अध्यधिक दर्शकमाझ परिचित गराउदै नेपाली रग्बीको अर्को पुस्तालाई भरणपोषण गर्ने कार्य गरिरहेका हुनेछौ।”
यस सम्झौतामा सहयोगी पहल, विद्यालय कार्यक्रम बिडिङ, रग्बी पूर्वाधार विकास, तालिम तथा क्षमता अभिवृद्धि, प्रतियोगिता र स्रोतको उपयोग, अनुगमन तथा मूल्याङ्कन र प्रवर्द्धनात्मक गतिविधिका विषयहरु समेटिएका छन्