Prakash Adhikari February 18, 2024

काठमाडौँ, ६ फागुन। आगामी मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ ।

इञ्जिनियर उमेश प्रसाद थानीले राजिनामा दिएपछि रिक्त कार्यकारी निर्देशकका लागि गठित पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि अन्तिम तीन उम्मेदवारको टुंगो लगाइसकेको छ ।

अन्तिम तीनमा गोरखाका डा. चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी पुग्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागुनदेखि ५ गते शनिबार बिहानसम्म व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।

समितिको सिफारिसअनुसार उद्योगमन्त्री रमेशप्रसाद रिजालले आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानु हुने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक भोलि हुने कार्यसूची छ । तर भोलि प्रजातन्त्र दिवस परेको छ । गत बिहिबारको नियमित बैठक पनि नेकपा माओवादीको विधान अधिवेशन र नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भएकोले हुन सकेको थिएन ।

वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम मुलुकको सबैभन्दा ठूलो कारोबार गर्ने पूर्ण सरकारी स्वामित्वको कम्पनी हो।

Share Now