काठमाडौं, ६ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिका भट्ट नियुक्त हुनुभएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा. भट्टलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।
डा. भट्ट हाल उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कार्यरत हुनुहुन्छ ।
उहाँ २०७० ताका पनि नेपाल आयल निगमको कार्यकारी प्रमुख रहिसक्नुभएको थियो । उहाँले नै स्वचालित मूल्य प्रणाली लागू गर्ने कार्यको थालनी गर्नुभएको थियो ।दोस्रो इनिड. गर्नुभएका डा. भट्टले निगमलाई अझ सुधार गर्नुहुने अपेक्षा कर्मचारीहरुले गरेका छन् ।
इञ्जिनियर उमेश प्रसाद थानीले राजिनामा दिएपछि रिक्त भएको निगमको कार्यकारी निर्देशकका लागि गठित पदपूर्ति समितिले लिएको परीक्षाको अन्तिम तीनमा डा. भट्ट शीर्षस्थानमा रहनुभएको थियो ।
अन्तिम तीनमा गोरखाका डा. चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनी पुग्नुभएको थियो ।
मन्त्रिपरिषद्को बैठकले यही तीनको सूचीबाट शीक्र्षमा रहनुभएका भट्टलाई नियुक्ति दिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले निगमको कार्यकारी हुन दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागुनदेखि ५ गते शनिबार बिहानसम्म व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।
समितिको सिफारिसअनुसार उद्योगमन्त्री रमेशप्रसाद रिजालले आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानु भएको थियो ।
वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम मुलुकको सबैभन्दा ठूलो कारोबार गर्ने पूर्ण सरकारी स्वामित्वको कम्पनी हो।


















