Prakash Adhikari March 8, 2024
भक्तपुर, २५ फागुन : आज महाशिवरात्रि पर्वका अवसरमा मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि उक्त मन्दिरमा पूजा सुरु भएको र यहाँ दर्शनार्थीको घुइँचो लागेको सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवीरसिंह प्रधानले बताउनुभयो ।
उहाँले मध्यपुरथिमि क्षेत्रमा बसोबास गर्ने स्थानीयसहित बसाइँसराई गरेर आएका देशभरका हिन्दू धर्मावलम्बीलाई दर्शन एवं पूजा गर्ने वातावरण निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
समितिका पदाधिकारी एवं सदस्यले बिहानैदेखि पूजाआजा र दर्शनको व्यवस्थापन गरेका छन् । मन्दिरमा दिनभर हवन तथा पूजा भएको छ भने भारतबाट आएका एक हनार आठ सत्यदेबजी महाराजद्वारा प्रवचन हुने जानकारी पनि दिइएको छ ।
त्यसैगरी भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको र दर्शनार्थीले चारै वटा ढोकाबाट प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उहाँले बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताउनुभयो । डोलेश्वरमा अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर भक्तजन आफैँले पूजा एवं दर्शन गर्न पाएका छन् । उहाँले राति ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
आज रातभर जाग्राम बसी धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित तीन सयभन्दा बढी साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको छ । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था पनि गरेका छन् ।
यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो छ । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।
मिथिलामा महाशिवरात्रिको उल्लास
जय शम्भो ! जय भोलेनाथ !! एउटै वाणी, एउटै पुकारा । आज महाशिवरात्रि पर्वमा मधेसका प्राचीन मिथिलाक्षेत्रका शिवालय भक्तजनको जयजयकारले गुञ्जायमान छन् । महाशिवरात्रि पर्वका अवसरमा महोत्तरीका प्राचीन शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथसहितका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
जलेश्वरनाथ जलेश्वर–१, टुटेश्वरनाथ बर्दिबास–५, मङ्गलनाथ सोनमा–६ र सिद्धनाथ मन्दिर भङ्गाहा–५ मा पर्छन् । यी शिवालयमा गए रातिदेखि नै धार्मिक अनुष्ठान र मङ्गलगान हुँदैछ । शिवालय परिसरमा  बिहीबार एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएको पवित्र जलले सेचन गरिएको छ । तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन् । जताततै शिव महिमाका भजन गुञ्जिएका छन् ।
यसैगरी गेढाभेटपुरस्थित धष्णेश्वरनाथ, बर्दिबास–३ र मण्डलस्थित इन्द्रेश्वरनाथ, बर्दिबास–१४ को कामेश्वरनाथ र भङ्गाहाको सीतापुरस्थित सन्तानेश्वरनाथ  महादेव मन्दिर परिसरमा हजारौँ सङ्ख्यामा दर्शनार्थी पुगेका छन् । बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको जलेश्वरनाथ मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।
मिथिलामा महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै १५ दिने मिथिला माध्यमिकी परिक्रमा प्रारम्भ हुन्छ । फागुन आँैशीका दिन धनुषाको ठेराकचुरीस्थित रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्नीकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला अघि लगाइन्छ । यो यात्रामा बाजागाजासाथ जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउ गङ्गासागर र धनुषसागरको प्रदक्षिणा गर्दै धनुषाकै हनुमानगढीमा रात्रि बास गरिन्छ । यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ । यो माध्यमिकी यात्रा आइतबार सुरु हुँदैछ ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ । पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ । त्यसैगरी धनुषामा पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखर, १२औँ दिन औरही र अन्तिम १५औँ दिन जनकपुरको रङ्गशाला मैदानमा रात्रिबासको परम्परा छ । एक सय ३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ ।
दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर (गिरिजास्थान), १३औँ दिन करुणा र १४औँ दिन विसौल रात्रिबासको परम्परा छ । यस यात्रामा २६ किमी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन् । पहिलो मधेस प्रदेशसभाले नै प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमा घेराभित्रका भूभाग समेटेर परिभाषित गरेको साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।
पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् । महाशिवरात्रिको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्व तयारी गर्दैछन् । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रिबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ । महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन् । परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइन्छ ।
 हेटाैँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो
 हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ ।
हेटौँडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् । कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटाँैडा बजारलगायत दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दा आएका छन् ।
चोखो भई आजको दिन उपवास गरी शिवमन्दिरमा गएर बेलपत्र, धतुर, पुष्पमाला, फूल, अक्षत दूध तथा दही, तिललगायत मिष्ठान र फलफूल चढाउनाले सुख, समृद्धि तथा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहेको छ ।
मन्दिरमा भजन कीर्तनसमेत भइरहेको छ । आजको दिन हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा रहेको शिव मन्दिरका साथै हेटौँडाका अन्य शिव मन्दिरमा पूजा गर्नेको घुइँचो लागेको छ ।
Share Now