काठमाडौं,३१ बैशाख । आजदेखि नेपालको विद्युत सेवा पुगेको स्थानमा विद्युको अविच्छिन्न सेवा प्रदान हुने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको आजदेखि हुने जानकारी दिएका छन ।
यसअघि घरेलु उपयोगमा अविच्छिन्न विद्युत सेवा उपयोग गरे पनि औद्योगिक क्षेत्रमा भने २ देखि ४ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । आज सोमबारदेखि भने उद्योग क्षेत्रमा पनि लोडसेडिङ अन्त्य गरिने भएको हो ।
ऊर्जाको क्षेत्रमा जनताको स्तरमा नै देखिने र अनुभव गरिने काम गर्न अग्रसर जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बैशाखभित्र देशका विद्युत सेवा पुगेको स्थानलाई लोडसेडिङमुक्त गराउन निर्देशन दिएका थिए ।
घिसिड.ले सोही निर्देशन अनुरुप विद्युतको आन्तरिक माग तथा उत्पादन , आपूर्ति र वितरणको तालमेल मिलाएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाउने प्रबन्ध गरेका हुन् ।
गर्मी बढेसंगै हिमालको हिँउ पग्लेर नदीको पानीको बहाबमा भएको बृद्धिका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गर्ने सफलता मिलेको हो ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यकालाई लोडसेडिड.मुक्त गरेको थियो । त्यसपछि क्रमश अन्य शहरहरु लोडसेडिङमुक्त गरेको थियो ।