Prakash Adhikari May 14, 2018

प्यारिस(फ्रान्स),३१ बैशाख(बीबीसी) । फ्रान्समा आयोजना भइरहेको क्यान चलचित्र महोत्सवको यस पटकको संस्करणमा दर्जनौं महिला अभिनेत्रीहरूले चलचित्र उद्योगमा हुने लैङ्गिक विभेदप्रति विरोध जनाएका छन्।

कार्यक्रमस्थलहरूमा अतिथि हिँड्नका लागि ओछ्याइने ‘रेड कार्पेट’मा गरिएको विरोध प्रदर्शनमा केट ब्लान्चट, क्रिस्टन स्टीवर्ट तथा सलमा हायक लगायतका अभिनेत्रीहरू सहभागी भएका थिए।

प्रतिष्ठित मानिने क्यान चलचित्र महोत्सवले महिला निर्देशकहरूका चलचित्रहरूलाई धेरै स्थान नदिएको भन्दै आलोचना भएका छन्।

चलचित्र उद्योगले महिलामाथि यौन दुर्व्यवहार हुने गरेका आरोपहरू खेपिरहेका बेला त्यस्तो किसिमको विरोधप्रदर्शन भएको छ।

गत वर्ष पहिलो पटक हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारका आरोपहरू लागेपछि आयोजित यो पहिलो क्यान चलचित्र महोत्सव हो।

उनले सहमति विनाको यौन सम्बन्धमा आफू संलग्न नभएको बताउँदै आएका छन्।

अभिनेत्रीहरू तथा चलचित्र निर्मात्रीहरूले एकअर्काको हात समातेर ‘रेड कार्पेट’मा हिँडेका थिए।

असमानता

केट ब्लान्चट

अभिनेत्री केट ब्लान्चटले चलचित्र उद्योगमा व्याप्त लैङ्गिक असमानताहरूबारे बोलेकी थिइन्।

उनले भनिन्, “हामी यहाँ ८२ जना महिला छौँ र सन् १९४६ मा पहिलो संस्करणको क्यान चलचित्र महोत्सव भएयता यी भर्‍याङहरू चढेका महिला निर्देशकहरूको संख्यालाई हामीले प्रतिनिधित्व गर्छौँ।”

ब्लान्चटले थप भनिन्, “क्यानमा दिइने प्रतिष्ठित पाम डोर सम्मान ७१ जना पुरुष निर्देशकहरूलाई दिइएको छ तर जम्मा दुईजना महिलाले मात्र सो सम्मान पाएका छन्।”

चलचित्र महोत्सवका सबै महिला निर्णायक सदस्यहरू तथा कैयौँ अभिनेत्रीहरू, महिला निमार्ताहरू तथा निर्देशकहरूले ती विरोधप्रदर्शनहरूमा सहभागिता जनाएका थिए।

निर्माता तथा ‘विमिन एण्ड हलिवूड’की अभियानकर्मी मेलिसा सिल्भरस्टिनले, उनकै शब्दमा, सो प्रदर्शन परिवर्तनतर्फको ठूलो कदम भएको बताएकी छिन्।

बहस

चलिचत्र उद्योगमा प्रख्यात रहेका पुरुषहरूमाथि लगाइएका यौन दुर्व्यवहारका आरोपहरूले कैयौँ उद्योगहरूमा हुने लैङ्गिक विभेद तथा यौन दुर्व्यवहारबारे आम बहस हुन सुरु गराएको छ।

साथै सामाजिक सञ्जालहरूमा ‘आफू पनि पीडित रहेको’ आशयको #MeToo ‘ह्यासट्याग’ छायो जसअन्तर्गत महिलाहरूले आफूले सामना गर्नुपरेको यौन दुर्व्यवहारका अनुभवहरू साटेका थिए।

चलचित्र उद्योग तथा अन्य कार्यस्थलहरूमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न तीन सयभन्दा धेरै अभिनेत्रीहरू, लेखक तथा निर्देशकहरूले समय सकियो अर्थात् ‘टाइम इज अप’ नाम दिइएको अभियान थालेका थिए।

गत ज्यानुअरी महिनामा भएको गोल्डेन ग्लोब्स पुरस्कार समारोहका क्रममा धेरै चलचित्र अभिनेत्रीहरूले सो ‘टाइम इज अप’ अभियानप्रति समर्थन जनाउँदै तथा यौन उत्पीडन र दुर्व्यवहारका पीडितहरूप्रति ऐक्यबद्भता व्यक्त गर्दै कालो रंगका पहिरनहरू लगाएका थिए।

Share Now

Leave a comment.