Prakash Adhikari September 20, 2026

च्यासल(ललितपुर), ४ असोज। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीहरूलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र न्यूनतम अभ्यासको पालना गर्न आग्रह गर्नुभएको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सो सुझाव दिनुभएको हो।

अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासलाई उल्लेख गर्दै उहाँले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र अभिव्यक्ति सम्पादन गरी प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने नियम रहेको बताउनुभयो।

‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने– तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि नै सोधिन्छ,’ ओलीले भन्नुभयो, ‘प्रश्न सोधिसकेपछि त्यसलाई प्रकाशित गर्नुअघि पनि ‘तपाईंले भनेको कुरा प्रकाशित गर्दैछौँ, गरौँरु’ भनेर सोध्ने गरिन्छ। तपाईंहरू चाहिँ अनुमति नलिई मुखमै ल्याएर माइक नघोच्नुहोस्।’

कसैको पूर्वस्वीकृति विना सिधै माइक तेर्स्याएर प्रश्न सोध्ने प्रवृत्ति मर्यादित नहुने भन्दै उहाँले पत्रकारहरूलाई संयमित र व्यावसायिक बन्न ध्यानाकर्षण गराउनुभएको छ ।

Share Now