विष्णु पोखरेल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १५ चैत्र । काठमाडौं उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको अवस्था गम्भीर बनेको र जाँच गर्दा कोभिड १९ पुष्टि भएको अधिकारीहरूले बताएका छन्।
उनीहरूले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले सतर्कता अपनाउन तथा खोप लगाउन सर्वसाधारण मानिसलाई आग्रह पनि गरेका छन्।
काठमाडौंस्थित सङ्क्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जनाभन्दा बढी सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए।
ती सबै बिरामीलाई सघन उपचार कक्षमा राख्नुपरेको र अहिले पनि चार जना आईसीयूमै रहेको उक्त अस्पतालका प्रमुखले जानकारी दिनुभएको छ।
कोभिडबाट बिरामीहरू सिकिस्त भइरहेको भए पनि यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको अधिकारीहरूले बताएका छन्।
कस्ता व्यक्ति सङ्क्रमित ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार कोभिडका कारण सिकिस्त भएर भर्ना हुनेहरू सबैजसो जेष्ठ नागरिक हुन्।
“उहाँहरू सबैको उमेर ६० वर्षभन्दा माथि नै देखिएको छ र अलि गम्भीर बिरामी भएरै आउनुभएको थियो”, उहाँले भन्नुभयो, “सबैलाई आईसीयूमै राखेर उपचार गर्नुपर्यो। केही बिरामी दमजस्ता दीर्घरोगबाट पनि पीडित हुनुहुन्छ।”
डा बसौलाले अस्पतालमा भर्ना भएका बिरामीहरूले पहिले मौसमी रुघाखोकीू ठानेर कोभिडको परिक्षण नगरेको पाइएको जानकारी पनि दिनुभयो।
“मौसमी रुघाखोकी भनेर अन्य अस्पताल जाँदा कोभिडको शङ्का गरेर यता पठाइएका बिरामी पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो।
अस्पतालमा मौसमी रुघाखोकी लागेको भनेर आउने बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भइरहेको उहाँको भनाइ छ।
“कोभिड भएर यहाँ आएका सबैजसो व्यक्तिमा निमोनिया पनि देखिएकाले उहाँहरू सिकिस्त हुनुभएको हो र अक्सिजन दिएरै उपचार गर्नुपर्ने अवस्था आएको हो”,उहाँले भन्नुभयो।
जाँच गराइहालौँ
डा बसौलाले केही सातायता उपत्यकाभित्र धेरै स्थानमा कैयौँ मानिसलाई मौसमी रुघाखोकी लागेको र निको हुन लामो समय लागेको विवरण आइरहेकाले कोभिड समुदायस्तरमा रहेको हुन सक्ने बताउनुभयो।
“समुदायमा कोभिड अहिले पनि छँदै छ भन्ने यसले देखाएको छ”, उहाँले भन्नुभयो,”विशेष गरी उमेर बढी भएका र दीर्घरोगी एवं खोप नलगाएकाहरूलाई कोभिडले सिकिस्त बनाउन पनि सक्छ। त्यसले समयमै परीक्षण गराउनु राम्रो हो।”
उहाँले रुघाखोकी लागेर केही दिनमा पनि निको नभए कोभिड परीक्षण गर्न पनि सुझाव दिनुभयो।
उहाँले खोप नलगाएका वा लगाएर पनि छ महिनाभन्दा बढी भएका व्यक्तिहरूलाई कोभिडको अतरिक्त मात्रा खोप लगाउन आग्रह गर्नुभयो।
“हामीले आकस्मिक कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेका छौँ। यो निःशुल्क हो, त्यसैले खोप लगाउन हामी आह्वान गर्छौँ।”
कतिले लगाए खोप?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दिएको जानकारीअनुसार अहिले देशभरि गरेर पुष्टि भएका २८ जनामा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण छ। तर परीक्षण गराउने क्रम घटेको हुनाले र समुदायमा जटिल सङ्क्रमण नभएका सङ्क्रमितहरू पनि भएको हुन सक्ने भएकाले वास्तविक सङ्ख्या बढी हुन सक्छ।
कोभिड भएकामध्ये दीर्घरोगी र जेष्ठ नागरिकहरू सिकिस्त बनेको पाइएको छ।
उहाँले खोप लगाउनेको सङ्ख्या धेरै भएकाले कोभिडको सङ्क्रमण देखिने क्रम नरोकिए पनि त्यसले महामारीकै रूप नलिने ठानिएको बताउनुभयो।
“हालसम्म लक्षित समूहमध्ये ९७ प्रतिशतभन्दा बढीले कोभिडको खोप लगाइसकेका छन् त्यसले गर्दा यसले महामारीकै रूप लिने सम्भावना कम छ तर पनि जोखिम समूहका व्यक्तिहरूलाई सिकिस्त बनाउने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो।
अहिले नेपालमा झन्डै सात लाख मात्रा कोभिडविरुद्धको खोप वितरण भइरहेको र त्यो खोप सङ्घ तथा प्रदेशस्थित भण्डारण केन्द्रहरूमा राखिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले नेपालमा साइनोभ्याक, कोभिशील्ड र फाइजर खोप उपलब्ध छ र सरकारले निस्शुल्क रूपमा वितरण गरेको छ।
“स्थानीय तहहरूमा पठाएको खोप चाहिँ लगाउने मान्छे नभएर म्याद गुज्रिएकाले अहिले सङ्घ र प्रदेशका भण्डार केन्द्रहरूमा राखिएको छ। कसैले खोप लगाउन चाहेमा स्थानीय स्वास्थ्य केन्द्रमा गएर माग गरेर त्यहाँबाट आएको माग अनुसार खोप पठाइदिने गरेका छौँ”, उहाँले भन्नुभयो।
त्यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने नियमित रूपमै खोप कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।
“सक्ने र भ्याउनेले टेकुमै गएर खोप लगाउन सक्नुहुन्छ। तर त्यहाँ पुग्न नसक्नेका लागि भने स्थानीय स्वास्थ्य केन्द्रबाटै पनि माग आएमा खोप उपलब्ध हुन्छ”, डा बुढाथोकीले भन्नुभयो।
सरकारले आगामी वैशाख महिनाभित्र थप १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी गरेको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत चार वर्षमा नेपालमा कोभिडका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ।


















