Prakash Adhikari May 1, 2024

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । निर्माण कम्पनीले पूर्वी खण्डको ५० प्रतिशत काम पूरा भएको जनाएको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार‘लेन’मा विस्तार भइरहेको सडकमा द्रुत गतिमा काम भइरहको छ । “पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।”

अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर (पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम भइरहेको बताउनुभयो ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताउनुभयो । अहिलेसम्म २७ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।

देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उहाँको कथन छ ।

गैँडाकोटबाट बुटवलसम्मको १ सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम गरिरहेको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तार थालिएको हो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ । दाउन्ने पहाडको करिब पाँच किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।

ठेक्का प्राप्त गर्दा ४२ महिनामा काम सक्ने संझौता गरिएको भएपनि नेपाल विद्युत् प्रा िकरणले पोल सार्न बिलम्ब गरेको, वन क्षेत्रमा रुखहरुको छपान र कटानमा वन विभाग र कार्यालयहरुले विलम्ब गरेको, झण्डै ३ बर्ष कोरोना महामारीको कारणले काम बन्द गर्नुपरेको र त्यसपछि रुस र युक्रेन युद्धका कारण निर्माण सामग्र्री अभावले कामलाई गति दिन नसकिएको इञ्जिनियर झाले बताउनुभयो ।

उहाँका अनुसार अब कामले गतिलिएको छ ।

Share Now