काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा सीप मेला आयोजना गर्दैछ।
मंगलवार आयोजित पत्रकार सम्मेलन उपमेयर सुनिता डंगोलले मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताउनुभएको थियो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो ।
‘सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं । त्यो उद्देश्य स्वरुप सीप मेला भने बुधबार शुभारम्भ हुँदैछ । र त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरुलाई सीपसँग जोड्नुपर्छ । र सीपलाई भने श्रमसँग जोड्नुपर्छ । र श्रमलाई बजारसँग जोड्नुपर्छ । यसरी जोडदै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं । र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं’ डंगोलले भन्नुभयो ।
मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।