Prakash Adhikari May 1, 2024

कीर्तिपुर(काठमाडौं), १९ बैशाख । नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ संगको टी २० श्रृखलाको तेस्रो खेलमा नेपालले टस हारेको छ । यस खेलमा नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हाल्दै छन् ।

खेलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द जगेडा खेलाडीका रुपमा बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी प्लेइड. ११ मा छन् ।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई टोलीमा राखेको छ ।

५ खेलको नेपाल श्रृखलामा दुवै टोलीले एक एक खेल जितेका छन् । शनिबार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शतकीय योगदानमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

आजको खेलमा नेपाली टोली अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीका तर्फबाट रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्सले खेल्दै छन् ।

Share Now