Prakash Adhikari May 5, 2024

नयाँदिल्ली(भारत), २३ वैशाख । नेपाल सरकारले सय रुपैयाँको नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा राख्ने निर्णय गरेको विषयमा भारतले प्रतिक्रिया दिएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार यसमा प्रतिक्रिया दिंदै ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’बताउनुभएको छ।

नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो।

हाल भारतीय फौज बसेको चुच्चे नक्साका बारेमा शनिवार दिल्लीको एक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री जयशंकरसंग प्रश्न सोधिएको थियो।

जवाफमा भारतीय विदेश मन्त्रीले भन्नुभएको छ ‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन ।’

 

नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको थियो।

पछिल्लो समय सीमा समस्याबारे द्विपक्षीय संयन्त्रहरुमा नेपाल र भारतबीच वार्ता हुन सकेको छैन।

Share Now