Prakash Adhikari May 5, 2024

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

उहाँले माओवादी सांसदका रूपमा सभामुखलाई समेत गणना गरी मुख्यमन्त्रीका लागि दावी पेस गरेकोले सो दाबी अवैधानिक छ भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

सर्वोच्च अदालतले सभामुखलाई गणना नगर्दा पनि बहुमत पुग्न सक्ने व्याख्या गर्दै वास्तविकता परीक्षण प्रदेश सभाबाटै गर्न आदेश दिएको थियो।

सर्वोच्चको यस आदेशपछि गण्डकीमा सरकार बनाउन आवश्यक संख्या ३० हो कि ३१ भन्ने अन्योल कायम छ।

गण्डकीमा सभामुखसहित ६० सदस्यीय प्रदेश सभा छ।

Share Now