Prakash Adhikari May 21, 2024
काठमाडौँ, ८ जेठः प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।
        सो क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताउनुभयो ।
सो समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यायदेश ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
 दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता
 प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गर्नुभएको थियो । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ ।
Share Now