Prakash Adhikari May 25, 2024

 

प्रदीप बस्याल /बीबीसी नेपाली सेवा

सगरमाथा आधारशिविर(सोलखुम्बु), १२ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको बसन्त आरोहण लगभग समापनतिर पुगेको छ । आधार शिबिरमा रहेका पर्यटन विभागका फिल्ड अफिसका  प्रमुखले आरोहण सञ्चालक दलका प्रमुखहरुलाई आरोहण समापन गर्न सुझाव दिइसक्नुभएको छ ।

बसन्त ऋतुको पर्वतारोहणयाम अन्तर्गत विश्वको सर्वोच्च शिखरको आरोहण झन्डै ९० प्रतिशत सकिएको र सबै आरोहण दललाई तत्कालै कामहरू टुङ्ग्याउन अनुरोध गरिसकेको उहाँले बताउनुभयो।

बिहीवारसम्म विभिन्न आरोहण दलबाट आरोही तथा क्लाइम्बिङ गाइड गरी ५ सय ७० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको प्रारम्भिक तथ्याङ्क छ।

यो पालि हालसम्म सगरमाथामा कम्तीमा ५ जनाले ज्यान गुमाएका छन् भने ३ जना हराइरहेका छन्। अघिल्लो वर्ष सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाएका र हराइरहेका कारण जीवित रहने सम्भावना नरहेको आरोहीको सङ्ख्या १८ रहेको अधिकारीहरूले उल्लेख गरेका छन्।

यी घटनाले विश्वको सर्वोच्च शिखरको आरोहणको खतरालाई उजागर गरेको भन्दै अग्ला अन्य हिमालहरूको अनुभव, तालिम, शेर्पा वा अनुभवी गाइड अनिवार्य राख्ने जस्ता विषयलाई सगरमाथा आरोहण अनुमति पत्र दिदाँको मापदण्ड बनाइनुपर्ने कतिपय विज्ञहरूको सुझाव दिएका छन्।

यो पालि सगरमाथामा के के भयो ?

हाल सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको फिल्ड कार्यालयका प्रमुख एवं नापी विभागका उपसचिव खिमलाल गौतमका अनुसार झन्डै ९० प्रतिशतसम्मको आरोहण सम्पन्न भएका छन् ।

गौतम भन्नुहुन्छ, “झन्डै ९० प्रतिशत सकियो जस्तो लाग्छ। मे २५ मा लगभग अन्तिम हुने भन्ने थियो। तर अहिले कतिपयले २८ तारिखमा पनि आरोहण गर्न लाग्नुभएको छ भन्ने कुरा आएको छ। हामीले २५ तारिखमा नै सबैले सक्नुहोस् भनेर अपिल गरेका छौँ। पर्यटन विभागले एक्स्पिडिसिन एजेन्सीहरूलाई पनि यस्तो भनेको छ।”

आरोहण सम्पन्न गरेका कतिपय दलहरूले आफ्नो टेन्टहरू हटाउन थालिसकेको उहाँले जानकारी दिनुभयो।

यस वर्ष विख्यात पर्वतारोही कामिरिता शेर्पाले कीर्तिमानी ३० औँ पटक सगरमाथाको आरोहण गर्नुभएको छ। यस सिजनमा मात्रै उहाँ दुई पटक सगरमाथाको चुचुरोमा पुग्नुभयो।

महिला आरोही फुन्जो जाङ्‌मु लामा यसै साता १४ घण्टा ३१ मिनेटमा सर्वोच्च शिखरको टुप्पोमा पुगेपछि उहाँले सर्वाधिक छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको रूपमा कीर्तिमान बनाउनुभएको छ।

आधार शिविरबाट हिमालका लागि हिँडेपछि आरोहीहरू विभिन्न क्याम्पहरूमा बस्दै आराम र अभ्यास गर्दै त्यहाँको वातावरणसँग घुलमिल हुने गर्छन्।

तर मे २२ को ३ बजेर ५२ मिनेट जाँदा बेस क्याम्पबाट निस्किनुभएकी फुन्जोले मे २३ मा ६ बजेर २३ मिनेटमा आरोहण सम्पन्न गर्नुभयो ।

उहाँले बेस क्याम्प(सगरमाथाको चुचुरो(बेस क्याम्पको यात्रा जम्मा २४ घण्टा २६ मिनेटमा पूरा गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हालसम्म सीमित आरोहीहरूले मात्रै एउटै आरोहणयाममा सगरमाथाको शिखर पुगेर राखेको दुर्लभ उपलब्धि यस पटक दोलखाका दावा फिन्जोक शेर्पाले राख्नुभएको छ।

गोर्खाकी महिला आरोही पुर्णिमा श्रेष्ठले यसै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाउनुभएको छ। उहाँको एजेन्सीलाई उद्धृत गर्दै अधिकारीहरूले श्रेष्ठ शनिवार बिहान पुनः चुचुरोमा पुगेको बताएका छन्। श्रेष्ठ त्यस्तो उपलब्धि हासिल गर्ने पहिलो महिला आरोही हुनुहुन्छ।

यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न ४५ वटा टोलीका ४ सय २१ जनाले अनुमति लिएका थिए। आरोहण दस्तुर वापत ६० करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ।

विभागका प्रवक्ता कालीबहादुर भुजेल भन्नुहुन्छ, “हाम्रो अनुमान जति आरोही भए त्यति नै सङ्ख्यामा गाइड र सहयोगीहरू हुन्छन् भन्ने रहन्छ। त्यही भएर सगरमाथामा ८०० ९०० जना पुग्ने अनुमान हामीले गरेका हुन्छौँ।”

उहाँले मौसम अनुकुल भए दुई तीन दिनभित्रै यस पटकको आरोहणयाम सम्पन्न हुने बताउनुभयो।

यो सिजनमा कति मानवीय क्षति भयो ?

यो सिजनमा मंगोलियाका दुई, रुमेनिया र केन्याका एक एक जना आरोहीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

ज्यान गुमाएका मंगोलियाका आरोहीहरूले गाइडहरू नलिइकनै आरोहणमा गएका थिए। त्यसबारे अनुसन्धान भइरहेको पर्यटन विभागका प्रवक्ता भुजेलले बताउनुभयो।

हिलरी स्टेपबाट तल खसेर खानसुङ फेसमा झरेका भनिएका एक ब्रिटिश आरोही र एक जना शेर्पा हराइरहेको सगरमाथा आधारशिविरको कार्यालयले जनाएको छ।

रुमेनियाका एक जना ४३ वर्षे आरोहीको क्याम्प तीनमा अवस्थित टेन्ट भित्रै मृत्यु भएको थियो।

केन्याका ४० वर्षे आरोहीको मृत्यु ८,८३० मिटरमा भएको सगरमाथा आधारशिविरमा अवस्थित फिल्ड कार्यालयका प्रमुख गौतमले बताउनुभयो।

बुधवार सगरमाथाको चुचुरो नजिकैबाट एक जना शेर्पा हराएका थिए भने ८ हजार २ सय मिटरमा अवस्थित साउथ कोलको ठ्याक्कै माथि पोखराका विनोदबाबु बस्ताकोटीको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

अघिल्लो वर्षको बसन्त ऋतुको आरोहणयाममा ६ सय भन्दाबढीले सगरमाथा आरोहण गरेका थिए र त्यो वर्ष धेरै मानवीय क्षति भएको भन्दै चिन्ता व्यक्त भएका थिए।

यसअघि सन् २०१५ मा विनाशकारी भुकम्पपछि सगरमाथामा कुनै आरोहण हुन सकेको थिएन तर त्यसबेला हिमपहिरोमा परेर १३ जनाको ज्यान गएको थियो।

मापदण्डमा कडाइ गर्नुपर्ने आवाज

सगरमाथाको पछिल्लो उचाइ मापन परियोजनामा पनि आवद्ध रहनुभएका गौतम सगरमाथा आरोहणमा खतरा रहेको र त्यसलाई नजरअन्दाज गरिँदा मानवीय क्षतिहरू भइरहेको बताउनुहुन्छ।

आफैँ पनि दुई पटक सगरमाथाको चुचुरोमा पुगिसक्नुभएका गौतमले बीबीसीसँग भन्नुभएको छ, “यो एक किसिमले मृत्युसँगको खेल हो। तर आजकल आरोहणको लालसा सबैमा बढेको छ। पर्वतारोहण व्यवसायको हिसाबले त्यो सकारात्मक भएपनि धेरै कुरा विचार गर्नुपर्छ। यसपालि पनि कतिपयमा तयारी देखिएन मृत्युसँग जुध्न आएको जस्तो देखियो।”

उहाँले सगरमाथा जानु अघिको पूर्वतयारी, मौसम, आरोहणमा प्रयोग गर्ने पथप्रदर्शक र सहयोगी, तन्दुरुस्तीजस्ता धेरै कुरा ख्याल गर्नुपर्ने उल्लेख गर्दै सरकारले पनि केही नीतिगत सुधारहरू गर्न खोजिरहेको औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “हामीले केही बाध्यकारी व्यवस्थाहरू राख्नुपर्ने भएको छ र त्यो पर्यटन विभागबाट प्रस्ताव पनि गरिएको छ। ट्रेकिङ गर्दा ट्रेकिङ गाइड लैजानुपर्ने नियम भए पनि पर्वतारोहण गर्दा गाइड लैजानुपर्ने बाध्यकारी व्यवस्था छैन। बेस क्याम्पको सेवा मात्रै लिने अनि सस्तो खोज्ने र जिस्कन आउने गर्नु हुँदैन।”

हालै नेपालको सर्वोच्च अदालतले दिएको एउटा आदेशले सगरमाथा सहित नेपालमा आरोहण हुने ४ सय १४ ठूलासाना हिमालका हकमा आरोहीको सङ्ख्या तोक्नुपर्ने उल्लेख गरेको थियो।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मातला माथेमाको संयुक्त इजलासले सरकारका नाममा हिमालहरू सफा राख्ने कुरालाई केन्द्रमा राखेर पर्वतारोहणको क्रममा पर्वतको सामर्थ्यको सम्मान गर्न आदेशमा भनेको थियो।

हाल नेपालले विदेशीबाट ११ हजार डलर दस्तुर लिएर सगरमाथा आरोहण अनुमति लिने गरेको छ। अधिकारीहरूले त्यसलाई बढाएर १५ हजार पुर्‍याउने तयारी भइरहेको बताएपनि विज्ञहरूले उक्त कदम मात्रै पर्याप्त नहुने धारणा राख्ने गरेको पाइन्छ।

Share Now