नेपालको विश्व कप टोलीद्धारा ह्युस्टन हुरिकेन्स २७ रनले पराजित ; नेपालको ब्याटिड.मा अझै सुधारको खाँचो
ह्युस्टन(टेक्सस, संयुक्त राज्य अमेरिका), १३ जेठ । आईसीसी टी २० विश्वकपको तयारीमा अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा स्थानीय ह्युस्टन हुरिकेन्सलाई २७ रनले पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।
खेलमा ह्युस्टनका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६ रन बनाए ।
ह्युस्टन हुरिकेन्सलाई रोक्ने क्रममा नेपालका तीब्र गतिका बलर करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले समान १ विकेट लिए ।
प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
खेलमा कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे ।
आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।
नेपाललाई रोक्ने क्रममा ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १ । १ विकेट लिए ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।
विश्वकप खेल्ने तयारी गरिरहेको नेपालले दुवै खेलमा जोडेको रन सम्मानजनक रहेन् । विश्वकप अगाडि अमेरिका र क्यानडाको विश्वकप टोलीसंग हुने खेलमा नेपालले यो कमजोरीलाई सुधार गर्नुपर्ने अवस्था छ ।


















