Prakash Adhikari May 26, 2024

काठमाडौं, १३ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्धारा भएको सहकारीको रकम अपचलनमा छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट सडक आन्दोलन सुरु गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आजबाट सडक आन्दोलन थालेको हो।

कांग्रेस भातृ संगठनहरूको उल्लेख्य सहभागी रहेको आन्दोलनमा सहभागी हुन केन्द्रीय नेताहरूसमेत प्रदर्शनी मार्गमा पुगेका छन्।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक लगायतका सांसदहरू प्रदर्शनमा सहभागी हुन पुग्नुभएको थियो ।

कांग्रेसले झण्डै २ महिनादेखि संसद् बैठक पनि अवरोध गर्दै आइरहेको छ। संसद् खुलाउने पहल भइरहँदा सहमति जुट्न नसकेपछि कांग्रेसले आन्दोलन घोषणा गरेको थियो।

गत बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

Share Now