काठमाडौं, १६ जेठ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक बर्ष २०८१र०८२ को बार्षिक बजेटमा थोरै वस्तु तथा सेवामा करका दर घटाउनुभएको छ भने धेरै वस्तु तथा सेवामा करको दर बढाउनुभएको छ छ ।
के मा घट्यो कर ?
सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ ।
स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरिएको छ । यस्तै, उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिस आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाइएको छ ।
वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाइएको छ । यसैगरी लगानी सम्भाव्य मुलुकबाट लगानी अप्रवाह वृद्धि गर्न दोहोरो करमुक्ति सम्झौताको मोडल विकास गर्ने र सो नमूनाका आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता सुरू गर्ने सरकारको नीति छ ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा गरिएका प्रतिबद्धता तथा सम्झौताबमोजिम व्यापार सहजीकरण एवं लगानी प्रवद्र्धन गर्न नयाँ भन्सार ऐन तर्जुमा गर्ने अर्थमन्त्रीको बजेटमा समावेश छ ।
सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था बजेटले गरेको छ । यस्तै, व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था मिलाइएको छ । यसबाट खासगरी स्टार्टअप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड लाभान्वित हुने विश्वास सरकारको छ ।
यस्तै, दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फार्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई एक प्रतिशत मात्रै कायम गरिएको छ । निकासीकर्ताले विदेशी मद्रा प्राप्तिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेस गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार बनाइएको छ । यसबाट खासगरी साना तथा मझौला निकासीकर्ता उद्योग लाभान्वित हुने विश्वास लिइएको छ । वनमारा, पातपतिङ्गरलगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महसुल सरकारले हटाएको छ ।
कर विवादका कारण भोग्नुपरेका समस्या एवं मर्काका सम्बन्धमा करदाताबाट गुनासो आइरहेको सन्दर्भमा कर निर्धारणलगायतका विषयमा अध्ययन गरी समस्या समाधान गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुट दिने व्यवस्था मिलाइएको छ ।
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
आज संसद्मा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ ।
आर्थिक विधेयकमार्फत उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम कायम गरेको छ । औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका कच्चापदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ । आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ । मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ ।
पेट्रोलियम पदार्थ र कोइलाजन्य वस्तु आयातमा हरित कर लगाइएको छ । मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्ड वृद्धि गरी तीस लाख पु¥याइएको छ । दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फार्म तथा उद्योगले पैठारी गर्ने ‘स्टिल मिल्क क्यान’मा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ एक प्रतिशत मात्र कायम गरिएको छ । निकासी कर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पु¥याइएको छ ।
आर्थिक विधेयकअनुसार विभिन्न वस्तुको आयातमा भन्सार विन्दुमा लाग्ने कृषि सुधार शुल्क पाँच प्रतिशतबाट बढाएर नौ प्रतिशत कायम गरिएको छ । ‘प्यासिफिक सालमोन’, ‘सोले’, ‘स्पिकज्याक टुना’, ‘डगफिस’ तथा अन्य ‘सार्क’हरु, ‘अल्बाकोर’ तथा लामो पखेटा भएका टुनालगायत माछाको आयातमा शुल्क नौ प्रतिशत पु-याइएको छ ।
मुसुरोको दाल (स्प्लिट रेड लेन्टिल्स) को निकासीमा प्रति किलोग्राम रु एक निकासी महसुल लाग्दै आएकोमा त्यसलाई हटाइएको छ । ‘पोलिप्रोपलिन’, ‘पोलिआइसोब्युटलिन’, ‘प्रोपलिन कोपोलिमर’ जस्ता वस्तुमा प्रति किलोग्राम रु पाँच बराबर निकासी महसुल लाग्ने गरी परिवर्तन भएको छ । काठमा कोणधारी (कोनिफेरस), गैरकोणधारी (नन्को-निफोरस) मा दुई सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारिएको छ । सल्लो, देवदारु, भोजपत्र, लहरे पिपललगायतका काठमा लाग्ने निकासी महसुल घटेको हो ।
यसअघि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा भन्सार महशुल नलाग्ने र योभन्दा बढी परिमाणमा आयात भएको एक सय ५० ग्रामसम्मको सुनमा तीन प्रतिशत भन्सार महशुल तिरेर ल्याउन सक्ने व्यवस्था रहेकोमा अब भन्सार तिरेर थप ५० ग्राम सुन मात्रै ल्याउन पाइनेछ ।
अस्थायी पैठारीमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि परिवर्तन गरिएको छ । एलपी ग्याँस ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्य स्थलमा अनलोड गर्न वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि रु एक हजार पाँच सय कर लगाउने नयाँ व्यवस्था ल्याइएको छ । एलपी ग्यासबाहेक अन्य ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर ट्याक्टर र अन्य ढुवानीका साधनलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कनका लागि वस्तु जाँचपास भएको ७२ घण्टासम्मको लागि रु एक हजार पाँच सय रुपैयाँ शूल्क लाग्नेछ ।
अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । त्यस्तै, विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका ‘डिप साइकल लिड एसिड ब्याट्री’ मा पनि शून्य दरको भ्याट कायम गरिएको छ ।
मूल्य अभिवृद्धि कर २०५२ को दफा ५ को उपदफा ३ सँग सम्बन्धित आधारभूत कृषिवस्तु आलु, प्याज, छ्यापी, लसुन, डुण्डु, स्याउ, नास्पाती, ‘क्विन्स’लगायत उत्पादनहरुमा भ्याट नलाग्ने व्यवस्था गरिएको छ ।
जलविद्युत् उत्पादन, वितरण तथा प्रसारणलाइन आयोजनाका लागि आवश्यक पर्ने निर्माण उपकरण, मेसिनरी औजार र त्यससँग सम्बन्धित पाटपुर्जा आयात गर्दा सम्बन्धित निकायको सिफारिसमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था राखिएको छ । विसं २०८२ चैत महिनासम्म वित्तीय व्यवस्थापन सम्पन्न भएका दुई सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशययुक्त जलविद्युत् आयोजनाको लागि लगानी बोर्डको सिफारिस र अन्य आयोजनाको हकमा विद्युत् विकास विभागको सिफारिसमा निर्माण उपकरण, प्लान्ट मेसिनरी औजार तथा त्यसका पाटपूर्जा, विस्फोटक पदार्थ, पेनस्टक पाइपलगायतका वस्तुमा भ्याट छुट दिइएको छ ।
आर्थिक विधेयकले सुकाएको नरिवलको गुदी (कोप्रा) मा १५ प्रतिशत अन्तःशूल्क लगाइएको छ । उखुको खुदोमा प्रति क्विन्टर रु एक सय पाँच बराबर अन्तःशूल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु एक सय १० बनाइएको छ । बलगर गहुँ, कर्नफ्लेक्स र तौलमा कोकोको मात्रा छ प्रतिशत भन्दा बढी भएका चकलेटमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । भोगटे, पमेलो, भुईकटहर, क्यानबेरी, आँपलगायतका जुसमा १३ प्रतिशत अन्तःशूल्क लाग्दै आएकोमा ५० पैसा थप गरिएको छ ।
सूर्तीरहित पान मसलामा प्रतिकिलो रु आठ सय ५० अन्तःशुल्क लाग्दै आएकोमा रु आठ सय ७५ बनाइएको छ । सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो रु तीन सय ६५ लाग्दै आएको अन्तःशूल्कलाई रु तीन सय ७५ बनाइएको छ ।
अल्कोहल रहित बियरमा प्रतिलिटर रु ३५ बाट रु ४५, ‘इनर्जी ड्रिङ्स’मा प्रतिलिटर रु ५० बाट रु ५२ पु¥याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर रु १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर रु १९ बराबर अन्तःशुल्क बढाइएको छ । त्यस्तै, छ्याङ (कन्ट्रि बियर) मा प्रतिलिटर रु ४३ रहेको अन्तःशूल्कलाई रु ४८ पु¥याइएको छ ।
१५ युपि शक्तिको ४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्राण्डीमा प्रतिलिटर रु एक हजार आठ सय बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु एक हजार आठ सय ६० पु-याइएको छ । २५ युपि शक्ति भएको यस्तो प्रकृतिको ब्राण्डीमा प्रतिलिटर रु ४५ कर बढाइएको छ ।
सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली रु ३० अन्तःशूल्क लाग्दै आएकोमा रु ३१ बनाइएको छ । त्यस्तै, फिल्टर नभएको चुरोटमा प्रति एम रु सात सय ३० बराबर लाग्दै आएको अन्तःशुल्क लाई बढाएर प्रतिएम रु सात सय ५५ बनाइएको छ । त्यस्तै, फिल्टर भएको रु ७० मिलिमिटरसम्मको चुरोटमा प्रति एम रु ५० अन्तःशुल्क बढाइएको छ । यसअघि प्रति एम रु एक हजार छ सय ९० बराबर अन्तःशुल्क लाग्दै आएको त्यसलाई बढाएर रु एक हजार सात सय ४० पु-याइएको छ ।
त्यस्तै, जर्दा, खैनी, नस गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलोग्राम रु आठ सय ५० बराबर लाग्दै आएको अन्तःशुल्कलाई रु प्रति किलोग्राम रु आठ सय ८० बनाइएको छ । खुद्रा बिक्रीको लागि राखिएको काटिएको सुर्ती तथा धुलो सुर्ती (डस्ट टोबाको) को प्रति किलोग्राम रु चार सय ७५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई रु चार सय ८० बनाइएको छ ।
चुना मिलाई खाने खुद्रा बिक्रीको लागि प्याकिङ गरिएको सुर्तीमा प्रति किलोग्राम रु ४५ बराबर अन्तःशुल्क बढेको छ । हुक्का फ्लेबरमा प्रतिकिलोग्राम रु एक हजार चार सय बराबर लाग्दै आएको अन्तःशुल्क बढेर रु एक हजार पाँच सय पुगेको छ ।
विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुगन्धित अत्तर (बडि स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा रु १५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु २० पु-याइएको छ । टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ) को अन्तःशुल्क पाँच प्रतशितबाट बढेर १० प्रतिशत पुगेको छ ।
फलाम वा अमिश्रित इस्पात (नन एल्बाए स्टील) का अर्धतयारी उत्पादनको अन्तःशूल्क हटाइएको छ । ल्यापटप तथा नोटबुकमा पाँच प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । पिक पावर ५० किलोवाटभन्दा कमका विद्युतीय सवारीलाई पाँच प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि सय किलोवाटसम्मका विद्युतीय सवारी साधनलाई १५ प्रतिशत लगाइएको छ । पेट्रोलियम पदार्थमा हरित कर लगाइएको छ । बिटुमिन कोइलालगायत वस्तुमा प्रतिकिलो ५० पैसा र डिजेल तथा पेट्रोलमा प्रतिकिलो रु एक बराबर हरित कर लगाइएको छ ।


















