काठमाडौँ, २० असार : पत्रकार पञ्चम अधिकारीद्वारा लिखित कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा यहाँ आज आयोजित कार्यक्रममा लेखक अधिकारी, उहाँकी आमा दिलमाया अधिकारी र साहित्यकार तथा समीक्षक नयनराज पाण्डे, सुमन वर्षा र राजकुमार बानियाँले कथासङ्ग्रहको संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको उक्त कथासङ्ग्रहको मूल्य रु चार सय २५ रहेको छ । सङ्ग्रहमा ‘नेहा’, ‘लोकल हिरो’, ‘घातक आकर्षण’, ‘प्रवासीको देश हुन्न’, ‘चालू प्रेमी’, ‘तिम्रो लोग्ने खै ?’, ‘अनि ऊ भागी’, ‘पिकासो केटी’, ‘फिरन्ते अनुराग’, ‘यो बर्बादी’, ‘इपिसेन्टर पालुङटार’, ‘इडियट’, ‘तिम्री स्वास्नी’ र ‘सानो सेक्रेट’ लगायत शीर्षकका १४ ओटा कथा समावेश छन् । तीमध्ये आठ ओटा कथा प्रवासी विषयसँग सम्बन्धित छन् ।
अन्य कथाहरु आधुनिकताका कारण नेपाली परम्परा र संस्कार हराउँदै गएको विषयमा लेखिएको लेखकको भनाइ छ । साहित्यकार नयनराज पाण्डे, सुमन वर्षा र समीक्षक राजकुमार बानियाँले सङ्ग्रहबारे टिप्पणी गर्नुभएको थियो । उहाँहरुले अधिकारीको कथासङ्ग्रहले साहित्यको क्षेत्रलाई थप उचाइमा पु-याउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार अधिकारीको यसअघि ‘पथिक प्रवासन’ नामक उपन्यास प्रकाशित छ । उहाँ तनहुँमा जन्मिएर हाल ब्रसेल्समा बस्दै आउनुभएको छ । उहाँले नेपालका प्रतिष्ठित छापा सञ्चारमाध्यम र नेपाल टेलिभिजनमा आबद्ध भई काम गरिसक्नुभएको थियो ।