काठमाडौं, २० जेठ । बहुचर्चित सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका अर्का मुख्य अभियुक्त भनिएका डा. डेभिड भनिने छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
उनी उक्त प्रकरणमा एक मुख्य योजनाकार भएको बताइएको छ।
जिल्ला अदालत मोरङमा आइतवार भएको थुनछेकको बहसपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए।
संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि फरार रहेका घले आइतवार आफैँ अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो।
‘सुन तस्करीका अभियुक्त गोरेले खोले थप रहस्य’
सुन तस्करी: प्रहरी अधिकारीसहित ६३ विरुद्ध मुद्दा
बयान
घले अपराधिक संगठनको सदस्य भएर सुन तस्करीमा प्रत्यक्ष संलग्न भएको, त्यसबाट कमिसन लिने गरेको, आफ्नो नाममा पटक पटक सुन मगाएको र अनुसन्धानका क्रममा भेटिएका रजिष्टरमा उल्लेख गरिएका विवरणबाट कसुरदार देखिएको अदालतको आदेशमा उल्लेख गरिएको गौतमले बताए।
उक्त प्रकरणका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीले समेत सुन तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति घले भएको बयान दिएका थिए।
तर घलेले आफू कुनै संगठित अपराधमा संलग्न नभएको बयान दिएको बताइएको छ।
घलेसहित उक्त प्रकरणमा पुर्पक्षका लागि थुनामा पर्नेको संख्या ३१ पुगेको छ।
विवरण
एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय प्रजित केसी, सञ्जय राउत, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला र चुडामणि उप्रेती गोरे लगायत ३० जना यसअघि नै पुर्पक्षका लागि थुनामा परिसकेका छन्।
तीमध्ये एसएसपी खत्री अदालतमा आफैँ हाजिर भएका थिए।
उक्त मुद्दामा मुछिएका ६३ जनामध्ये ३० जना अझै फरार रहेको बताइएको छ।
अदालतमा उपस्थित गराइएका दुई जना भने तारेखमा छुटेका थिए ।
(बीबीसी)