काठमाडौं, ७ साउन । काभा नेसन्स लिग २०२४ को तयारीका लागि रसियाली टोलीसंग खेलिएको दोस्रो मैत्रीपूर्ण खेलको नतिजा पनि नेपालले आफ्नो पक्षमा पार्न सकेन ।
सोमबार भएको दोस्रो खेल पनि पाहुना टोली रसियाले ३–० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै सोझो सेटमा नै हार बेहोरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलको पहिलो सेट नेपालले २५–१४ ले गुमायो ।
दोस्रो सेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर रसियाली टोलीसंग नेपालको जोर चलेन र नतिजा २५–२३ ले प्रतिस्पर्धीलार्ई सुम्पन पुग्यो । तेस्रो सेटमा पनि नेपालले रसियालाई बलियो चुनौती दिएको हो तर नतिजा रसियाको पक्षमा पुग्यो, २५–२२ ले ।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । अब नेपाली टोली काभा नेसन्स लिगको लागि तयारीमा जुट्ने भएको छ ।
काभा नेसन्स लिग साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुदैछ । काभा नेसन्स लिगमा आयोजक नेपालसँगै भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउने छन् ।


















