Prakash Adhikari July 23, 2024

 

मेरिल्याण्ड(संयुक्त राज्य अमेरिका), ८ साउन ।  जय नेपाल इन्टरनेशनल फाउण्डेशन अन्तर्राष्ट्रिय समितिको हालै सम्पन्न बैठकद्वारा “टोलटोलमा पुस्तकालय” अभियानको संयोजकमा लेखक तथा अनुवादक सुभाष घिमिरेलाई नियुक्त गरेको छ ।

अमेरिकाका राज्य राज्य घुम्दा घिमिरेले आफूले पढेका पुस्तक लगेर निःशुल्क दिन पनि सकिने र आफूलाई मन पर्ने पुस्तक निःशुल्क ल्याएर पढन पनि पाइने लघु पुस्तकालय देख्नु भएको थियो । भ्रमणकै क्रममा नयाँ पुस्तक पढने र आफ्ना पुस्तक छोड्ने अभ्यास पनि गर्नुभएका लेखक तथा अनुवादक घिमिरेले नेपालमा पनि पठन संस्कृति विकास गर्न टोलटोलमा लघु पुस्तकालय खोल्न उपयुक्त हुने विचार सामाजिक सञ्जालमा साझा गर्नुभएको थियो ।

उहाँको यो उत्तम विचारलाई ग्रहण गर्दै जय नेपाल इन्टरनेशनल फाउण्डेशनले यो अभियान सञ्चालन गर्ने निर्णय गदै उहाँलाई संयोजक तोकेको हो । फाउण्डेशनले उहाँलाई हरेक गाउँमा एक पुस्तकालय स्थापना गर्ने अभियान अन्तरगत सुरुमा पाइलट प्रोजेक्ट सञ्चालन गर्ने कार्यादेश दिएको छ ।

संयोजक घिमिरेका अनुसार पानी नपस्ने गरी काठ र सिसाको प्रयोग गरी बनाइने उक्त सानो निःशुल्क पुस्तकालयमा निम्नलिखित सन्देश भएको सूचना टाँसिनेछ ।

Little Free Library
Take a Book, Leave a Book !
You can also take a book without leaving one and you can leave a book without taking one !

अर्थात्

सानो नि: शुल्क पुस्तकालय
एउटा किताब लिनुहोस्, एउटा छोड्नुहोस् !
तपाईं कुनै किताब नछोडी लिन पनि सक्नुहुन्छ र कुनै किताब नलिई छोड्न पनि सक्नुहुन्छ !

Share Now