Prakash Adhikari July 30, 2024

काठमाडौं, १५ श्रावण । सकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेसहित १८ जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।

तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ।

भारतमा शंकर शर्मा पुनः सिफारिस गरिएको छ। राजदूत शर्मालाई अघिल्लो सरकारले तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसंध्यामा फिर्ता बोलाएको थियो ।

 

यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरे बेलायतका लागि राजदूत सिफारिस गरिएको छ।

मन्त्रीपरिषदले चीनका लागि डा. कृष्णप्रसाद ओलीलाई राजदूत सिफारिस गरेको छ। ओली यसअघि केपी ओली नै प्रधानमन्त्री रहेका बेला उहाँलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाइएको थियो।

मलेसियाका लागि यसअघिकै सिफारिसअनुसार डा. नेत्रप्रसाद तिम्सिनाको नाम पठाइने भएको छ।

त्यस्तै जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, साउदी अरबमा नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, अस्ट्रेलिया कान्ता रिजाल तथा पाकिस्तानमा रीता धिताल राजदूत सिफारिस हुनुभएको छ।

सचिवहरुको सरूवा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको पनि ब्यापक सरुवा गरेको छ । अर्थ सचिव मधुकुमार मरासिनीलाई सरुवा गर्दै राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाएको छ।

राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई सरुवा गरिएको छ।

मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ।

उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ।

अख्तियारका सचिव रामेश्वर दंगाललाई वाणिज्य मन्त्रालयमा ल्याइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा हुनुभएको छ।

रक्षा सचिव किरणराज शर्मालाई राष्ट्रपति कार्यालयमा पठाइएको छ भने राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मा लोक सेवा आयोगमा ल्याएको छ।

मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार, २१ जना सचिवको जिम्मेवारी हेरफेर भएको छ।

Share Now