काठमाडौँ, १० भदौ (रासस) : राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवद्धारा श्रीकृष्णाष्टमी र गौरा पर्वको देश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्णअष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । सोही दिनको सम्झनामा हिन्दू धर्मावलम्बीहरूले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।
राष्ट्रपति पौडेलले गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको र गीता ज्ञानले समाजलाई सहि दिशा दिन योगदान दिएको समेत उल्लेख गर्नुभएको छ ।
गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।
गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।
यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।
यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ ।
राष्ट्रपति पौडेलले यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमी र गौरा मृदुल माध्यम हुन्ः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । “हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक चिन्तन तथा प्रेरणा र जागरणको दृष्टिलाई प्रादुर्भाव गर्ने ज्यावल हुन्, जसले हामीलाई पारस्परिक रूपमा जोड्ने मृदुल माध्यमको काम पनि गर्छन् ।”
श्रीकृष्ण जन्माष्टमी पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा धुमधामका साथ मनाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रही आएको छ । भगवान् श्रीकृष्णले सिङ्गो मानवताको भलाइका लागि अपनाएका नवआचार र विचारलाई अवलम्बन गर्न अभिप्रेरित गर्दछ । यस अवसरमा श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउँछ । गीता उपदेशमा श्रीकृष्णले राजयोग, कर्मयोग, भक्तियोग र ज्ञानयोग जस्ता विभिन्न योगमार्गहरूको महत्व र अभ्यासबारे विस्तृत वर्णन गरेका छन् ।
यसले जीवनका विभिन्न पक्षमा मार्गदर्शन गर्नुका साथै आत्मज्ञानको मार्ग पनि देखाउँछ । श्रीकृष्ण जन्माष्टमी पर्वमा सामूहिक रूपमा नृत्य, सङ्गीत, झाँकी, नाटक र कृष्णलीलामार्फत कृष्ण र राधाको प्रेमका कथा प्रस्तुत गर्ने परम्परा छ । श्रीकृष्णको जीवन र शिक्षालाई सम्झने अवसर प्राप्त हुने भएकाले मानिसलाई आफ्नो आध्यात्मिक यात्रामा अघि बढ्न उत्प्रेरित गर्दछ ।
यस्तै, नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा परापूर्वकालदेखि हर्षोल्लासका साथ गौरा पर्व पनि मनाइदै आइएको छ । यस पर्वका अवसरमा पाँच किसिमका अन्नको सामूहिक स्वरुप ‘बिरुडा’ प्रसादका रूपमा बाँड्ने चलन छ । पुरुष र महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
मूल रुपमा गौरी महेश्वरको उपासना गरिने गौरा पर्व हिन्दू नारीद्वारा आफ्नो सुसौभाग्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र शुद्धताका लागि गरिने सुसंस्कृत र संस्कारजन्य अनुष्ठान हो ।