Prakash Adhikari August 28, 2024

सातदोबाटो(ललितपुर), १२ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ (सा) यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताउनुभयो ।

यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “बङ्गलादेश एकदमै राम्रो टोली हो । भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरेको छु ।” सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो । प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

Share Now