Prakash Adhikari June 12, 2018

 

काठमाडौं, २९ जेठ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने अनुमान गरिएको छ ।

प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपककराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषदमा झण्डै तीन महिना पहिले पठाइसकेको छ ।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । त्यसयता कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलले न्यायालयको नेतृत्व गरिरहेका छन् ।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना भएपछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश सिफारिसका बेला कानूनमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहन्छ्न् ।

Share Now

Leave a comment.