Prakash Adhikari September 23, 2024

काठमाडौं, ७ असोज । नेपालका युवा र किशोर फुटबलर टिमहरु दुई महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपालको यु-२० टोली आज एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा आज चाइनिज ताइपेइको सामना गर्दैछ भने भुटानमा भैरहेको साफ यु-१७ च्याम्पियनसीपमा नेपाली किशोर टोली श्रीलंकासंग भिड्दै छ ।

समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेइबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । खेल न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियम ताइपेईमा हुनेछ ।

पहिलो खेलमा पराजित भएका नेपाल र चाइनिज ताइपेइ दुवै पहिलो जितको खोजीमा छन् ।

पहिलो खेलमा नेपाल कम्बोडियासँग ४(१ ले पराजित भएको थियो । यस्तै घरेलु टोली चाइनिज ताइपेइ बहराइनसँग १(० ले पराजित भएको थियो ।

छनोट चरण पार गर्ने लक्ष्य राखेको नेपालको लागि पहिलो खेलमा पराजित भएपछि चुनौती थपिएको छ । नेपालले बलियो टोलीहरुसँग खेल्न बाँकी नै छ ।

साफ यु १७ च्याम्पियनसिपमा नेपाली किशोर टोली श्रीलंकासँग भिड्दै

यता भुटानमा भइरहेको साफ यु १७ च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकासँग भिड्दै छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

समूह बी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १(० ले पराजित भएको थियो । त्यसैले सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले आज श्रीलंकालाई हराउनैपर्ने अवस्था छ भने श्रीलंकाको लागि पनि आजको खेल जित्नैपर्ने अवस्था छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५(१ ले पराजित भएको थियो ।

 

Share Now