ओन्टारियो(क्यानडा), ८ असोज । आईसीसी विश्वकप लिग २ को छनोट चरण अन्तरगत क्यानडामा भैरहेको नेपालसहितको त्रिदेशीय एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट श्रृखलाको नेपाल र ओमानबीचको मंगलबारको खेल रद्द भएको छ । लगातार बर्षा भएपछि नेपाल र ओमानबीचको निर्धारित खेल रद्द भएको हो ।
श्रृखलामा नेपालको अन्तिम खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन ।
खेल रद्द भएसंगै नेपाल र ओमानले टस नगरिकन एक एक अंक बाँडेका छन् ।
क्यानडामा नेपाल,ओमान र घरेलु टिम बीच भएको त्रिदेशीय एक दिवसीय अन्तराष्ट्रिय खेलमा आफूले खेलेका ४ खेलमा नेपालले बर्षाको दयाले यो एक अंकमात्र जोड्न सकेको हो ।
त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउने लक्ष्यमा रहेको थियो । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।
लिग टुको अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।
लिग २ मा हालसम्म क्यानडाले ११ .खेलमा ७ जितसहित १४ अंक जोडेर शीर्षस्थान हासिल गरेको छ । अमेरिकाले ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेको छ। नेदरल्याण्ड्सले पनि ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ। स्कटल्याण्डले ७ खेलमा ४ जितसहित ९ अंक हासिल गरेको छ। नामिबियाले ११ खेलमा ४ जित सहित ८ अंक हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स ६ खेलमा १ जितसहित २ अंक हासिल गरेर अंक तालिकाको पुछारमा पुगेको छ ।
यस पटक लिग २ को छनोटका क्रममा क्यानडामा नेपालले खेलेका तीन वटै खेल कुनै पनि स्मरण गर्न लायक रहेनन् ।
तीन वटै खेलमा नेपालका शीर्ष तहका ब्याटरहरु मैदानमा टिकेर रन जोड्न असमर्थ रहे । रन पनि बलरहरुले जोड्न पर्ने लज्जाजनक अवस्था सिर्जना भयो । अब नेपालले आफ्ना प्रत्येक खेलाडीको कमजोरीको समीक्षा गरेर त्यसलाई हटाउन प्रयास गरेन भने यस लगत्तै अमेरिकामा हुने अर्को श्रृखलाका खेलहरु जित्न पनि नेपाललाई सजिलो पर्ने देखिदैन ।
अमेरिका श्रृखलामा नेपालले स्कटल्याण्ड र घरेलु टोली अमेरिकासंग खेल्ने छ । खेल यही आगामी अक्टोबर र नोभेम्बर महिनामा हुने छ । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अक्टोबर २७ मा अमेरिकासग खेल्ने छ । दोस्रो खेल २९ अक्टोबरमा स्कटल्याण्डसंग खेल्ने छ भने तेस्रो खेल अमेरिकासंग २ नोभेम्बरमा खेल्ने छ । नेपालले श्रृखलाको अन्तिम खेल नोभेम्बर ४ मा स्कटल्याण्डसंग खेल्ने छ ।
लिग २ को ओडिआई सिरिज पछि नेपालले क्यानडा र ओमानसंग क्यानडामा नै त्रिकोणीय टी २० श्रृखला पनि खेल्ने कार्यक्रम छ । यसमा नेपालले थोरै सुधार गर्न सक्ने संभावना भने ज्यूँदै छ । अघिल्लो पटक लिग २ मा पाताल पुगेको बेला नेपाल क्रिकेट संघको मुख्य प्रशिक्षक बनेर आएका मोन्टे देसाईले नेपाली टोलीमा अकल्पनीय सुधार गरेर देखाएका थिए । अहिले पनि मुख्य प्रशिक्षक उनै रहेको र टिमसंगै क्यानडा र अमेरिका भ्रमणमा रहने हुँदा नेपाली टिमको कन्त बिजोग उनीबाट पनि सहनयोग्य हुने छैन् । नेपाली खेलाडीहरुलाई मैदानमा टिक्ने र रन जोड्ने कला उनले सिकाउनै पर्दछ । ५० ओभरको खेललाई पनि टी २० जसरी लिएर जस्ता बलमा पनि लड. शट प्रहार गर्न खोज्दा नेपाली खेलाडीहरु क्याच आउट हुन पुगेका छन् । गतिला बलमा चौका हान्ने कला सिकेमा नेपालले गुमेको लय र साःख छिटै फिर्ता ल्याउन सक्ने देखिन्छ ।


















