Prakash Adhikari September 26, 2024

काठमाडौँ, ९ असोजः भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ तर एएफसी यु–१७ टोली भने ताइवानमा उज्वेकिस्तानसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।

एफसी यु–२० मा नेपाल उज्वेकिस्तानसँग पराजित

एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको हो ।

चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलअन्तरले पराजित भएको हो । खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो । उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे । खेलको ९०औँ मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६–० गोलको जित निकाल्यो ।

एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग नेपाल ४–१ गोलअन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७–० गोलअन्तरले पराजित गरेको थियो । लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छभने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । आगामी सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

Share Now