सिड्नी(अष्ट्रेलिया), ११ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले प्रवासमा बस्ने नेपालीहरुलाई आफ्नो पहिचान नबिर्सन आग्रह गर्नुभएको छ।
अष्ट्रेलिया भ्रमणमा रहनुभएका पौडेलले नेपालमा भएको जग्गा जमीन नबेच्न आग्रह गर्दै मातृभूमीप्रति प्रेमलाई यथावत राख्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो,‘नेपालमा भएको जग्गाजमीन कसैलाई कमाउन दिनुहोला । घर संरक्षण गर्नुहोला तर बेच्ने काम नगर्नुहोला ।’
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशिएका नेपालीहरुले आफ्नो पहिचान बिर्सने खतरा रहेको उल्लेख गर्दै मातृभूमिमा रहेको जायजेथा जोगाएर राख्न र भावी पुस्तालाई मातृभूमिप्रति आकर्षित गराउन सम्पत्तिको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।
विभागीय प्रमुखको जिम्मेवारी पाएपछि देशदेशका जनसम्पर्क समितिको अधिवेशन गराउनेतर्फ आफू अघि बढेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘जनसम्पर्क समितिहरुको अधिवेशनका सवालमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ । सोही निर्णयलाई आधार मानेर अधिवेशन गराउनेतर्फ सबै देशका जनसम्पर्क समितिका साथीहरु अघि बढ्नुपर्छ ।’