काठमाडौँ, १२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।
श्रीलङ्का टापुमा ३४ जना थुनिए
बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाँले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।”
बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ ।
उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उनीहरु शुक्रबार रातिदेखि सुनकोशीको बाढीमा फसेका थिए । सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरु बीच भागमा थुनिएका थिए । मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताउनुभयो । मन्दिर परिसरमा थुनिएकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शुक्रबारदेखि नै प्रयास गरेको उहाँले बताउनुभयो ।
उनीहरुले उद्धार गर्न नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रजिअ शर्माले बताउनुभयो । रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार समेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ ।
–––
–––