तेलअभिभ(इजरायल), १६ असोज (बीबीसी) । हमासले झण्डै बर्षदिन अगाडि इजरायलमाथि हमला गरेर सुरु गरेको इजरायल-हमास युद्धमा लेबनानको हिजबुल्लाह र यमनको हुँथी हुँदै इरान पनि जोडिन पुगेको छ ।
इजरायलले हिजो लेबनानमाथि स्थलसैनिक कारबाही बढाएपछि इरानले इजरायलतर्फ प्रहार गरेको छ । त्यसरी प्रहार गरिएका झण्डै १ सय ८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरायली सेनाले जनाएको छ।
जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन्। केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ।
अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)का एकजना प्रवक्ताले जनाएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही ूपूरा गरेकोू जनाएका छन्। तर इजरायलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन्।
इजरायलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन्।
नेतन्याहूको चेतावनी
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेको बताउँदै त्यसको मूल्य चुकाउनु पर्ने बताउनुभएको छ।
मन्त्रीपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरेल र उसका शत्रुविरुद्ध जबाफ दिने दृढता आफ्नो देशको दृढतालाई नबुझेको बताउनुभयो ।
“उनीहरूले बुझ्नेछन्”,उहाँले भन्नुभयो, “हामीहरू हामीले बनाएका नियममा दृढ छौँ, जसले हामीलाई हमला गर्छ, हामी उनीहरूलाईे हमला गर्छौँ।”
व्यापक रूपमा इरानी क्षेप्यास्त्र हमला भएका केही घण्टामै इजरायली वायु सेनाले हिज्बुल्लाहलक्षीत निशानामा भन्दै लेबनानको राजधानी बेइरुतमा थप प्रहार गरेको छ।
तेहरान के भन्छ?
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको वैध अधिकार बताउँदै त्यो इरान र यस क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यसाथ गरिएको बताउनुभएको छ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले हमलालाई इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरायललाई दिइएको एउटा निर्णायक जबाफ बताउनुभएको छ।
नेतन्याहूललाई सम्बोधन गर्दै उहाँले इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताउनुभयो।
उहाँले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन चेतावनी दिनुभएको छ।
इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो।
इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो। उक्त ठूलो भीडमा धेरै मानिसहरूले इरान र हिज्बुल्लाहका झण्डा र शुक्रवार इजरायली हवाई हमलामा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए।
केहीले पटका पटकाएको समेत तस्बिरहरूमा देखिन्छ।
ब्रिटिश राजदूतावासबाहिर उक्त भेला भएको थियो। गत एप्रिलमा समेत इरानले इजरायलमा हमला गर्दा सोही ठाउँमा प्रदर्शन भएका थिए।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
इरानी हमलापछि राष्ट्रपति जो बाइडनले इजरायलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्याउनुभएको छ ।
उहाँले तेहरानको हमलालाई पराजित र निष्प्रभावी बताउँदै उक्त हमलालाई निष्फल तुल्याउन इजरायलसँग अमेरिकी सेनाले मिलेर काम गरेको बताउनुभएको छ।
ब्रिटिश प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा सर किअर स्टार्मरले जर्मन चान्सलर ओलाफ सोल्जसँग कुरा गरेको र दुवैले इरानी हमलाको निन्दा गरेको जनाउनुभएको छ।
उक्त हमलाको निन्दा गर्नेमा फ्रान्स र जापान समेत रहे पनि उनीहरूले समेत सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न भनेका छन्।
संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहोर्याएका छन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ।