काठमाडौं, १५ असोज । मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी बन्ने ८ टोलीका मालिक सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा आठ टोलीको लोगो पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपालको आफ्नै पहिचानको राष्ट्रिय लिग एनपीएल आयोजनामा सहकार्यका लागि अग्रसर टिम मालिकहरूलाई धन्यवाद दिनुभएको थियो।
मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको चर्चा अहिले निकै चुलिएको छ। यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो। आइतवार नेपाली खेलाडीको अक्सन हुने बताइएको छ।
सहभागी टोलीका मालिकहरुले एनपिएलको टिम खरिदका लागि कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैंयाँ खर्चेका थिए।
एनपिएलका आठ टिममध्ये काठमाडौं गुर्खाजलाई कैलाश सिरोहिया ,उपेन्द्र महतो, अरूण सर्राफको संयुक्त लगानीमा स्थापित नेपाल स्पोर्टस डेभलपमेन्ट भेन्चर प्रालिले खदिर गरेको छ । यो टिम खरिदमा नेपाल स्पोर्टस प्रा.लि.ले ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैया खर्च गरेको छ । यो टिमको मार्की खेलाडी करण केसी रहेका छन् ।
पोखरा एभेन्जर्सलाई नेपाल टी २० क्रिकेट लिमिटेडले खरिद गरेको छ । यो कम्पनी सुवोध त्रिपाठी र मन्त्री बल श्रेष्ठले स्थापना गरेका हुन् । टी २० क्रिकेट लिमिटेडले पोखरा एभेञ्जर्सलाई ३ करोड ५७ लाख रुपैयामा खरिद गरेको हो । यस टिमको मार्की खेलाडी कुशल भुर्तेल रहेका छन् ।
चितवन राइनोजलाई चितवन मेडिकल कलेजले खरिद गरेको छ । यसको मालिक हरिश्चन्द्र न्यौपाने र आयुश न्यौपाने रहेका छन् । कुशल मल्ल मार्की खेलाडी रहेको यो टिमलाई चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार रुपैयाँमा खरिद गरेकोे हो ।
विराटनगर किंग्सलाई पारस लुनियाको कम्पनी एमएडु ड्रिम्स स्पोर्टसले खरिद गरेको छ ।
विश्वचर्चित खेलाडी सन्दीप लामिछाने मार्की रहेको यो टिमलाई लुनियाले १ करोड ५१ लाख रुपैयाँमा खरिद गरेका छन् ।
लुम्बिनी लायन्सलाई इश्वर जीसीको कम्पनी फर्चुन हेल्थ केयरले खरिद गरेको छ । नेपाली राष्ट्रिय टिमका कप्तान रहेका रोहित पौडेल मार्की रहेको यो टिमलाई इश्वर जीसीले १ करोड ७६ लाख ४ रूपैयाँमा खरिद गरेका हुन् ।
त्यस्तै जनकपुर बोल्ट्सलाई अमित श्रेष्ठको कम्पनी ड्रिम स्पोर्ट्सले खरिद गरेको छ । यो टिमकामार्की खेलाडी आशिफ शेख रहेका छन् । यो टिमलाई ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख रुपैयाँमा खरिद गरेको हो ।
कर्णाली याक्स टिमलाई झनक दत्त खनाल , ग्रिहेन्द्र घिमिरेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको छ । यो टिमको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । कर्णाली याक्सलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो ।
टिम सुदुर पश्चिम रोयल्सलाई स्वतन्त्रप्रताप शाहकोकम्पनी एम्पायर स्पोर्ट्सले खरिद गरेको हो । यसका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी रहेका छन् । यो टिमलाई एम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।