काठमाडौं, ४ असार । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभामा दुई वर्ष मात्रै पहिलो कार्यकाल हुने भएको छ। गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने ढुक्कसंग ६ बर्ष कार्यकाल गुजार्न पाउने भएका छन् ।
उनी एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य भएका थिए। राष्ट्रियसभामा पदावधिका लागि सोमबार भएको गोलाप्रथामा खतिवडालाई दुई वर्षको चिठ्ठा परेको थियो । अब खतिवडाले अर्थमन्त्रीको रुपमा यो कार्यकालमा एकपटक मात्र बजेट ल्याउन पाउनेछन् । कार्यकालको अवधि राष्टिय सभाको पहिलो बैठक बसेको दिनदेखि गणना हुने संबैधानिक व्यवस्था छ ।
प्रधानमन्त्रीको विश्वास यथावत रहे उनी दुई वर्ष पछि हुने राष्ट्रिय सभाको निर्वाचनमा फेरि राष्टपतिबाट मनोनित बन्न सक्ने छन् । उनी नेपाल सरकारको सिफारीशमा राष्टपतिबाट निर्वाचित भएका हुन् ।
संविधानमा जुन सांसद जसरी राष्टिय सभामा पुगेको हो सोही प्रक्रियाबाट रिक्तपद पूरा गरिनु पर्ने किटानी व्यवस्था छ ।
यता गृहमन्त्री रामबहादुर थापा वादललाई भने भाग्यले पूरापूर साथ दिएको छ । उनलाई आज गरिएको गोलाप्रथामा ६ बर्षको कार्यकालको चिठ्ठा परेको छ ।
त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको पदावधि ६ वर्ष कायम भएको छ। उनले गोलाप्रथा हुँदा ६ वर्षको पदावधिको चिठ्ठा थुतेका हुन्।