काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई मन परेपनि नपरेपनि देशका लागि कांग्रेस आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाकालागि मंगलबार अपरान्ह कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्दै सभापति देउवाले कांग्रेसले मात्र आर्थिक सम्बृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्नले बताउनुभयो । उहाँले भन्नुभयो, ु‘कांग्रेस पार्टी कसैलाई मन परोस् नपरोस्, देशका लागि आवश्यक हो ।’
प्रजातन्त्र विरोधी शक्तिहरु एक भएको र कम्युनिष्ट अधिनायकवाद ल्याउन खोजेको भन्दै उहाँले कम्युनिष्ट शासन आयो भने अन्याय भयो भन्न र रुन समेत नपाइने दाबी गर्नुभयो ।
२००७ सालको क्रान्ति लगतै वीपी कोइराला मुर्दाबाद भन्ने अधिकार समेत दिइएको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, कम्युनिष्ट शासनमा कहाँ पाइन्छ अधिकार रु तानाशाही शासनमा कहाँ पाइन्छ मुर्दावाद भन्न । अन्याय भयो भन्न पाइन्न । रुन पाइन्न ।’
उहाँले नेकपा एमालेतर्फ संकेत गर्दै मधेसी, पहाडी तथा जातिजातिबीच द्वन्द्व चर्काउन केही दलहरु लागिपरेको आरोप लगाउदै कांग्रेसले मात्र हिमाल, पहाड र मधेसलाई जोड्न सक्ने दाबी गर्नुभयो ।
घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दलले संविधानको मूल मर्ममाथि नै प्रश्न उठाउन खोजेको आरोप लगाउनुभयो । उहाँले केही शक्तिहरु
मिलेर मुलुकलाई निरंकुशतातर्फ लैजाने उद्घोष गरेको बताउँदै त्यसको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिष्टहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको बताउनेु भयो ।
घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेस घोषणापत्र निर्माण समितिका संयोजक एवम् केन्द्रीय सदस्य महेश आचार्यले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र, राष्ट््िरयता र सामाजिक न्यायको पक्षमा काम गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई निर्वाध रुपमा लोकतन्त्रको उपभोग गर्न अवस्था सिर्जना गर्न, व्यक्तिका मौलिकहरुको किटानी गरी उपभोग गर्ने अवस्था सिर्जना गर्न, मुलुकलाई संकटबाट मोचन गर्न र जनतालाई शान्तिपूर्ण रुपमा बस्ने अवस्था सिर्जना गर्न कांग्रेस सफल रहदै आएको उल्लेख गर्नुभयो ।
नेता आचार्यले नेपाली कांग्रेसको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलन पछि स्थापना देशको आर्थिक र सामाजिक क्षेत्रमा भएको विकासको तुलनात्मक विवरण पनि कांग्रसले समेटेका बताउनु भयो । उहाँले कांग्रेसको अगुवाईमा संविधानसभाबाट जारी भएको संविधानले देशको राजनीतिक व्यवस्थाको टुंगो लगाई सकेकोले अब कांग्रेस आर्थिक विकासको नेतृत्व गर्न अग्रसर भएको तर अन्य राजनीतिक दलहरु जरा गाड्न लागेको राजनीतिक व्यवस्थालाई खल्बल्याउन उद्यत रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले घोषणापत्रमा नेपाली कांग्रेसले अहिलेका ७ प्रदेशको विकास कसरी गर्ने भन्ने रेखांकन पनि प्रस्तुत गरेको र मुलुकलाई आगामी पाँच र १० बर्षमा कहाँ पुर्याउने भन्ने लक्ष्य पनि प्रस्तुत गरेको बताउनु भएको थियो ।
उहाँले २०४६ सालको परिवर्तन पछि पनि नेपाली कांग्रेसको नेतृत्वको सरकारले तीव्र गतिमा आर्थिक विकास गरिरहेको बेलामा कम्युनिष्टहरुले विभिन्न बहानामा आन्दोलन गरेर लोकतन्त्रको संस्थागत विकास र भौतिक पूर्वाधार तथा सामाजिक विकासका गतिविधिमा अवरोध ल्याएको बताउदै अहिले पनि मुलुक राजनीतिक स्थायित्व सहित आर्थिक विकासमा केन्द्रित हुन थालेको बेलामा संविधानको मूल प्रस्तावना नै फेर्ने नारा सारेर पुन अस्थिरता निम्त्याउन लागेको उल्लेख गर्नुभयो ।
उहाँले देशमा हिंसा र हत्याको राजनीति आरम्भ गरेर देश र जनताको विकासलाई अबरुद्ध गर्नेहरु एकसाथ उभिए पनि विवेकशील नेपाली जनताले लोकतन्त्र र विकासको बाहक नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वमा रहने गठबन्धनलाई अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो ।
घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु,मन्त्रीहरु , जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारीहरु सहित ठूलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।