रवात(मोरक्को), ३० असोज (बीबीसी) । दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमिमा विगत ५० वर्षमा पहिलो पटक डुबान हुँदाका केही रोचक तस्बिरहरू सार्वजनिक भएका छन्।
दुई दिनसम्म भारी वर्षा हुँदा त्यहाँ औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको थियो। त्यसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएको थियो।
“यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो”, मोरक्कोको मौसमसम्बन्धी निकायका एक अधिकारी हुसिन यूआबेबले अमेरिकी समाचारसंस्था असोसिएटेड प्रेसलाई भन्नुभयो ।
दुर्लभ वर्षा
उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा एक दर्जन देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ।
दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ। यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिन्छ।
मोरक्कोको राजधानी रबाटबाट झन्डै ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ।
कारण के ?
यस्तो वर्षालाई मौसमविद्हरूले ‘अतिउष्णक्षेत्रीय आँधी (एक्स्ट्राट्रपिकल स्टोर्म) ‘ भनेका छन्। मोरक्कोको मौसमसम्बन्धी निकायले असोसिएटेड प्रेसलाई बताएअनुसार हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ।
नासाले सार्वजनिक गरेका र भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा जगोरा र टाटा सहरका बीचमा रहेको क्षेत्रमा पानी भरिएको देखिन्छ। यो विगत ५० वर्षसम्म सुक्खा थियो।
मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था डब्ल्यूएमओका अनुसार संसारभरि नै वर्षाचक्र छिटो छिटो बदलिने क्रम अहिले बढेको छ।
“बढ्दो तापमानको परिणामस्वरूप ुहाइड्रोलजिकल साइकलु अझ तीव्र बन्न पुगेको छ”,डब्ल्यूएमओुकी महासचिव सेलेस्ट सउलोले एक पत्रकार सम्मेलनमा भन्नुभयो,”अनि यो अझ अनियमित र पूर्वानुमान गर्न नसकिने भएको छ। कि एकदमै धेरै कि त एकदमै कम पानीका कारण हामी अझ धेरै समस्या भोग्दै छौँ।”
विश्वव्यापी तापमान वृद्धिका कारण चरम मौसमी घटना बढ्न थालेकाले सहारा मरुभूमि क्षेत्रमा भविष्यमा पनि यस्ता घटना हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।