Prakash Adhikari October 16, 2024

 

काठमाडौं, ३० असोज । वर्षौँसम्म उकालो लागिरहेको पेट्रोलियम पदार्थको आयात र मूल्य विगत दुई वर्षयता घट्नुमा नेपालको अर्थतन्त्र कमजोर हुनु र उद्योग व्यवसायका काम सुस्ताउनु तथा बिजुलीबाट चल्ने गाडीको प्रयोग बढ्नु भएको नेपाल आयल निगमका अधिकारी र विज्ञहरूले बताएका छन्।

गत वर्षको दुई महिनाको तुलनामा यो वर्ष पेट्रोल र डिजेलको मूल्य र खपत दुवै घट्दो क्रममा रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

यो आर्थिक वर्षको साउन र भदौ महिनामा डिजेल १३ अर्ब ६४ करोड रूपैयाँ बराबर आयात भएको छ भने गत वर्षको यही अवधिमा १५ अर्ब ७४ करोड रूपैयाँ बराबरको डिजेल आयात भएको थियो।

पेट्रोल भने गत वर्षको दुई महिनामा ११ अर्ब ३० करोड रूपैयाँको आयात भएकोमा यो वर्ष ११ अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ।

मूल्यमा मात्रै नभइ परिमाणमा पनि डिजेलको आयात पोहोरको दुई महिनाको तुलनामा यो दुई महिनामा घटेको छ। पोहोर १५ लाख किलोलिटर डिजेल आयात भएकोमा यस वर्ष १४ लाख ४७ हजारमात्रै आयात भएको छ।

विगत १० वर्षमा यी वस्तुको औसतमा आयात बढिरहेको भए पनि पछिल्लो दुई आर्थिक वर्षमा भने लगातार पेट्रोल र डिजेलको खपत घटेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार दुई वर्षअघि आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७८ अर्ब रूपैयाँ बराबरको डिजेल आयात भएकोमा आर्थिक वर्ष २०७९र८० मा भने १ खर्ब ५३ अर्ब रूपैयाँ बराबरको आयात भयो।

गएको आर्थिक वर्ष २०८०र८१ मा भने १ खर्ब ४३ अर्ब रूपैयाँ बराबरको मात्रै आयात भएको छ।

किन घट्यो आयात ?

पेट्रोल र खासगरी डिजेलको आयात वा खपत कम हुनुमा विकास निर्माणका काममा आएको कमी रहेको नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजाल बताउनुहुन्छ।

“वर्षाको समयमा खासगरी साउन र भदौ महिनामा त विकासका काम खासै नहुने भएकाले पनि पेट्रोलियम पदार्थको खपत यी महिनाहरूमा कम हुन्छ”, रिजालले भन्नुभयो, “अर्को कुरा अहिले बिजुली गाडीहरूको प्रयोग बढेसँगै पेट्रोल खपत पनि कम भइरहेको छ। विकासका काम बढ्ने वा आर्थिक गतिविधि बढ्ने बितिक्कै डिजेलको खपत बढ्छ।”

तर मुख्यगरी देशमा आएको आर्थिक मन्दीले नै डिजेलको खपतमा वार्षिक रूपमा कमी आएको वा स्थिर भएको अवस्था रहेको प्रवक्ता रिजालले बताउनुभयो।

नेपाल आयल निगमकै पूर्वनिर्देशक रहेका मुकुन्द ढुङ्गाना पनि डिजेलको प्रयोग हुने उद्योग व्यवसायका काम सुस्ताएका कारण डिजेलको खपत कम भएको ठान्नुहुन्छ।

“पेट्रोलको खपत कम हुनुमा बिजुलीको प्रयोग बढ्नु भए पनि डिजेलको हकमा भने डिजेल खपत हुने मुख्य क्षेत्रका गतिविधि नै कम भएको हो”, ढुङ्गानाले भन्नुभयो, “अर्को भनेको नेपालमा पेट्रोलको भाउ कम हुँदा उताका गाडी सीमाक्षेत्रमा यता इन्धन भर्न आउँछन् भने उता सस्तो भएपछि यताका गाडी उता जान्छन्, अहिले इन्धन उता सस्तो भएका कारण पनि यताको आयातमा असर गरेको हो।”

मूल्यमा कति कमी आएको छ?

आर्थिक वर्ष २०७९/२०८० यता पेट्रोलियम पदार्थको आयात घट्ने क्रममा रहँदा यो अवधिमा डिजेल र पेट्रोलको खरिद मूल्यमा पनि कमी आएको छ।

विगत दुई वर्षमा पेट्रोलियम पदार्थको मूल्य हेर्ने हो भने पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ। २०७९ सालको असोज महिनाको यही समयमा पेट्रोलको प्रति लिटर मूल्य १९९ थियो भने अहिले १५९ रूपैयाँ छ।

त्यस्तै डिजेलको मूल्य १९२ थियो भने यो समाचार तयार पार्दा प्रतिलिटर मूल्य १४९ रुपैयाँ रहेको छ।

अन्तर्राष्ट्रिय स्तरमै तेलको भाउ बढेका कारण नेपालमा पनि मूल्यवृद्धि भए पनि सरकारले सुरुमा कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटायो। पछि भने अन्तर्राष्ट्रिय स्तरमै मूल्य घट्न थालेपछि नेपालमा पनि घटिरहेर अहिले प्रतिलिटर डिजेलकव १४९ रुपैयाँ र पेट्रोलको १५९ रुपैयाँ कायम छ।

आर्थिक वर्ष २०७९ अघिको एक दशकमा भने पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहँदा आयात पनि औसतमा वर्षेनी बढ्ने क्रममा रहेको थियो।

२०७९ यता भने माथि तथ्याङ्कले देखाएजस्तै लगातार इन्धनको मूल्य पनि घटेको छ र आयात पनि घटेको देखिन्छ।

अहिले तेस्रो आर्थिक वर्षको दुई महिनामा पनि त्यही अनुसार विगतको वर्षको तुलनामा इन्धन घटिनै रहेको तथ्याङ्कले देखाएको छ।

निगमका प्रवक्ता रिजाल भन्नुहुन्छ , “पर्यटनलगायत विकास निर्माणका कामजस्ता आर्थिक गतिविधि बढ्यो भने तत्कालै डिजेलको खपत बढिहाल्छ। यो ओरालो नै लागिरहन्छ भन्ने त अनुमान गरिएको छैन।”

Share Now