काठमाडौं, २ कार्तिक । आईसीसी लिग २ को त्रिकोणात्मक श्रृखलाका लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारीका क्रममा अमेरिकासंग खेलेको पहिलो टी २० श्रृखलाको पहिलो खेलमा अमेरिकासामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टी २० आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गर्यो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । खेलमा दीपेन्द्रसिंह ऐरीले २८ रन, अनिल साह र आसिफ शेखले २७ । २७ रन, गुलशन झाले ११, कुशल भुर्तेलले १०,सोमपाल कामीले २ रन बनाए । करन के.सी.,आरिफ शेख र सागर ढकालले कुनै रन जोड्न सकेनन् ।
नेपाललाई रोक्ने क्रममा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए ।