Prakash Adhikari October 19, 2024

बेलबारी (मोरङ), ३ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताउनुभएको छ । उहाँले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिनुभयो ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भन्नुभयो, “यो सरकार ढल्दैन, चल्छ, यद्यपी मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।”

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ।”

सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

“संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,” उहाँले भन्नुभयो । नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

विराटनगरस्थित कोइराला निवासमा शुक्रबार मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भन्नुभयो, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साखः फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस् ।”

नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहँले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पार्नुभयो ।

विसं २०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिनुभयो ।

–––

Share Now