Prakash Adhikari October 21, 2024

 

काठमाडौं, ५ कार्तिक । अमेरिकामा भईरहेको नेपाल र अमेरिकाबीचको टी २० अन्तर्राष्ट्रिय श्रृखलाको अन्तिम खेलमा घरेलु टिम अमेरिकाले नेपालसामु १ सय ५७ रनको प्रस्तुत गरेको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकी टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गर्यो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर चम्किरहेको बेला सोमपाल कामीको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदा ललित राजवंशीको बलमा रिजन ढकालबाट क्याच आउट भएका थिए ।

अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबीडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए । अन्तिम टी २० आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक श्रृंखला क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी २० आई श्रृंखला क्लिन स्विप गरेको थियो ।

नेपालले अमेरिकासँगको श्रृंखला भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टी २० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यो टी २० श्रृंखला पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृंखला सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

Share Now