Prakash Adhikari October 21, 2024

काठमाडौं, ५ कार्तिक । अमेरिकामा सम्पन्न नेपाल र अमेरिकाबीचको टी २० अन्तर्राष्ट्रिय श्रृखलामा नेपालले क्लिन स्विप गरेको छ ।

आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा घरेलु टिम अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले श्रृखलाका तीनै खेल आफ्नो पक्षमा पारेको हो । हिजो सम्पन्न खेल नेपालले सुपर ओभरमा जितेको थियो भने पहिलो खेल १७ रनले आफ्नो पक्षमा पारेको थियो ।

अमेरिकाको ग्राण्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर फिल्डिड.मा परेको नेपालले अमेरिकाबाट १ सय ५७ रनको लक्ष्य पाएको थियो । निर्धारित २० ओभरको खेलमा नेपालले सो लक्ष्य २ विकेटको क्षतिमा ८ बल बाँकी रहदै पूरा गर्यो ।

आजको खेलमा नेपालका तीनजना ब्याट्सम्यान लयमा देखिए । ओपनर आशिफ शेखले सर्वाधिक ५० रन जोडे भने कुशल मल्ल ४४ रनमा नट आउट रहे । त्यस्तै कुशल भूर्तेल ४० रनमा नट आउट रहे । ओपनर अनिल साहले १३ रन जोडे ।

नेपाललाई रोक्ने क्रममा अमेरिकाका जोनी ड्राइस्डेल र जसदीप सिंहले एक एक विकेट लिए ।

यस पहिले टस जितेर ब्याटिड. रोजेको अमेरिकाले ५ विकेटको क्षतिमा १ सय ५६ रन जोडेको थियो । अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ५० मा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर चम्किरहेको बेला सोमपाल कामीको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदा ललित राजवंशीको बलमा रिजन ढकालबाट क्याच आउट भएका थिए ।

अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबीडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी २० आई श्रृंखला क्लिन स्विप गरेको थियो ।

नेपालले अमेरिकासँगको श्रृंखला भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टी २० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यो टी २० श्रृंखला पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृंखला सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

 

Share Now