-प्याट्रिक ज्याक्सन /बीबीसी न्यूज
ब्रिटिश कोलम्बिया (क्यानडा), ७ कार्तिक । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने दुई व्यक्तिले क्यानडाको एउटा अदालतमा आफू दोषी भएको स्वीकार गरेका छन्।
ट्यानर फक्स र होजे लोपेजले सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या गरेको अभियोग स्वीकार गरेका हुन्। सिंहको सुनियोजित हत्या गरेको अभियोगमा मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा अघिल्लो दिन नै उनीहरूले ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतमा ज्यान मार्ने कसुर गरेको स्वीकार गरे।
तर त्यसपछि दुई अभियुक्तबीच न्यूवेस्टमिन्स्टरस्थित अदालतको कक्षभित्रै घम्साघम्सी भयो।
भ्यान्कूभर सन पत्रिकाका अनुसार फक्स र लोपेजबीच दुई मिनेटजति एकअर्कालाई मुक्का हाने र चिथोरे। सुरक्षाकर्मीहरूले हस्तक्षेप गर्दै उनीहरूलाई छुट्ट्याए र भुइँमा निहुरिएर बस्न लगाए। त्यसपछि उनीहरूलाई हतकडी लगाएर बाहिर लगियो।
अन्य सुरक्षाकर्मीहरूले अदालतको दर्शकदीर्घा खाली गराए।
कस्तो सजाय होला?
उनीहरूको मुद्दामा अक्टोबर ३१ का लागि तोकिएको इजलासले फैसला सुनाउने छ। हत्या गरेको कसुर स्वीकार गरेको हुनाले उनीहरूले स्वतः आजीवन कारावासको सजाय पाउँछन्।
क्यानडाको सार्वजनिक प्रसारक सीबीएसका अनुसार यतिखेर एकमात्र प्रश्न भनेको आचरण सुधार्ने सर्तमा छुट्नुअघि कति समय जेलमा बस्नुपर्छ भन्ने हो।
सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उनको पारिवारिक व्यवसाय रहेको ठाउँबाहिर कैयौँ पटक गोली हानिएको थियो। प्रहरीले नजिकै एउटा जलेको गाडी भेटेको थियो।
विमान बम विस्फोटन प्रकरणमा मलिकले सन् २००५ सफाइ पाएका थिए।
सन् १९८५ को घटना
सन् १९८५ को जुन २३ मा क्यानडाबाट भारतका लागि उडेको एअर इन्डियाको उडान नं १८२ भएको विमानमा आइरिश तटनजिकै विस्फोटन भएको थियो।
विस्फोटनका कारण विमानमा सवार सबै ३२९ जनाको ज्यान गयो। तीमध्ये धेरैजसो भारतमा आफन्त भेट्न हिँडेका क्यानडाका नागरिकहरू थिए।
विमानमा बम विस्फोटन भएकै समयमा जापानमा दोस्रो बम विस्फोटन भएको थियो। उक्त घटनामा ब्यागेज हेर्ने दुई कर्मचारीको मृत्यु भएको थियो।
सन् १९८४ मा भारतमा सिखहरूको पवित्र तीर्थस्थल स्वर्णमन्दिरमा आक्रमण भएपछि त्यसको जबाफ दिन ती विस्फोटनहरू गराइएको ठानिन्छ। उक्त घटनालाई क्यानडाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा घातक आतङ्कवादी आक्रमण मानिन्छ।
दुई वर्षको सुनुवाइपछि मलिक र उनीसँगै आरोपित अजायब सिंह बागरीले आमहत्या र दुइटा बम विस्फोटन गराउने षड्यन्त्र गरेको अभियोगबाट सन् २००५ मा सफाइ पाएका थिए।
मलिक परिवार र दोषीका वकिलहरू के भन्छन्
उनीहरूले सोमवार दिएको बयानका अनुसार फक्स र लोपेजले मलिकको हत्या गर्ने ‘काम’ पाएका थिए। तर कसले उनीहरूलाई पैसा दिएर मलिकको हत्या गर्न लगाएको थियो भन्ने चाहिँ कुरा प्रमाणित हुन सकेन।
उक्त साङ्घातिक आक्रमणमा प्रयोग गरिएका दुइटा ह्यान्डगत प्रहरीले ती दुई अभियुक्तका घरबाट बरामद गरेको थियो। ‘भ्यान्कूभर सन’का अनुसार प्रहरीले ११,९४३ अमेरिकी डलर बराबरको रकम पनि लोपेजको न्यूवेस्टमिन्स्टरस्थित घरमा भेटेको थियो।
मलिकको परिवारले एउटा विज्ञप्ति जारी गर्दै हत्याको निर्देशन दिने व्यक्तिलाई न्यायको कठघरामा ल्याउनका लागि प्रहरीलाई सघाउन आग्रह गरेको छ।
“उनीहरूलाई काम लगाउने र हत्याको निर्देशन दिनेलाई न्यायको दायरामा नल्याएसम्म यो काम अपूर्ण रहने छ,” विज्ञप्तिमा भनिएको छ।
बीबीसीले सम्पर्क गर्दा फक्सका वकिलले यो मुद्दामा प्रतिक्रिया जनाउन अस्वीकार गरे। लोपेजका वकिलहरूले अब उनले “लामो बाटो तय गर्नुपर्ने” बताए।
“[हत्याको] जिम्मेवारी लिन उनले आज गरेको निर्णयका आधारमा तथा उनी युवावस्थामै रहेको र उनले आत्मग्लानि महसुस गरेका कारणले हामी उनको पुनः सहज जीवन बिताउने सम्भावनाप्रति आशावादी छौँ,” उनीहरूले भने।