काठमाडौँ, ९ कात्तिक : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक सफल बनाउन सरकार, निजी क्षेत्र र साझेदारी संस्थाको समन्वय महत्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भूमिका’ विषयक गोष्ठीमा बोल्दै आज मन्त्री अधिकारीले निजी क्षेत्रको सहभागिता बिना लगानी दशकले सार्थकता नपाउने बताउनुभएको हो । कृषि उत्पादन खरिद बिक्री गर्न निजी क्षेत्रको लगानी अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
कृषि क्षेत्रमा सरकारको लगानी विगतका दशकमा वृद्धि भएको बताउँदै उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा बजेटको तीन प्रतिशत हाराहारीमा छ, यसलाई बढाउन आवश्यक छ । सरकारले कृषिमा अप्रत्यक्ष लगानी गरेको छ । यसले गर्दा कृषि उत्पादन बजारमा ल्याउन सहज भएको छ ।”
मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले सरकारले घोषणा गरेको कृषिमा लगानी दशक निजी क्षेत्रका लागि लगानीको ठूलो अवसर भएको बताउँदै कृषि उत्पादन निर्यातका लागि सरकारले सहज वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । नेपाल चेम्बर अफ कमर्सका कृषि जडिबुटी तथा वनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा लगानी वृद्धि गर्न लगानी दशक महत्वपूर्ण हुने बताउनुभयो । त्यसका लागि स्रोत जुटाउन कृषि मन्त्रालयले अझै सशक्त र बलियो आधार बनाएर लैजान उहाँले सुझाव दिनुभयो ।
कृषि उद्यमी वसन्त रोक्काले सरकारले केही समय अघि विभिन्न नाकाबाट भित्रने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने नीति लिएको भए पनि त्यसलाई निरन्तरता दिन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न किसान सङ्घ संस्थाका प्रतिनिधिले सरकारले घोषणा गरेको लगानी दशकलाई सार्थक बनाउन सबैले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले विसं २०८१ देखि कृषि लगानी दशक घोषणा गरेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।


















