तेहरान(इरान), १० कार्तिक । इजरायलले इरानका सैनिक अखडामा आक्रमण सुरु गरेको छ । तेहरानका सञ्चारमाध्यमहरुले राजधानीमा इजरायली आक्रमण भएको र ठूला ठूला विष्फोटका आवाज आएको उल्लेख गरेका छन् ।
इरानमाथि आक्रमण गर्नु पहिले इजरायल डिफेन्सस फोर्सेज(आईडीएफ) का प्रवक्ताले इरानका सैनिक अखडामा हमला गर्ने तयारी भएको र संसारका कुनै पनि सार्वभौम राष्ट्र सरह आत्मरक्षाको अधिकार आफ्नो राष्ट्रसंग रहेको बताउनुभएको थियो ।
आईडीएफका प्रवक्ता डेनियल हगारीले ७ अक्टोबर २०२३ यताका दिनमा इरानी शासक र उनीहरुका सहयोगी संगठनहरुले इजरायलमाथि लगातार आक्रमण गरेको उल्लेख गर्नुभएको थियो ।
उहाँले इजरायलको रक्षात्मक र आक्रमण दुवै क्षमता पूर्णरुपले सक्रिय भएको जनाउदै आफ्नो देश र नागरिकको रक्षाको खातिर आवश्यक पर्ने कार्य गर्न पछि नपर्ने उल्लेख गर्नुभएको थियो ।
इजरायली सेना(आईडीएफ)ले इरानका विभिन्न सैन्य अखडामाथि सांकेतिक र सानो कारवाही चलाइएको र त्यो पूरा भएको बताएको छ । उसले हवाई हमलामा पठाइएका आफ्ना लडाकु विमानहरु सकुशल फर्केको पनि जानकारी दिएको छ ।
समाचार एजेंसी रोयटर्सले इरानका सरकारी टिभीको हवाला दिंदै त्यहाँको गुप्तचर संस्थाका अधिकारीहरुले विष्फोटको जस्तो ठूलो आवाज इरान हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएकोले आएको हुन सक्ने प्रतिक्रिया दिएको उल्लेख गरेको छ ।
समाचार एजेन्सी एएफपीले इरानको सरकारी टेलिभिजन च्यानलले तेहरानका दुवै एयरपोर्ट सामान्य तरिकाले सञ्चालन भैरहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले पनि इजरायलले इरानमा आक्रमण गरेको जानकारी भएको उल्लेख गरेको छ ।
अमेरिकामा बीबीसीको समाचार साझेदार सीबीएससंग राष्ट्रीय सुरक्षा परिषदका प्रवक्ताले भन्नुभएको छ ुु हामीलाई इजरायलले इरानको सैन्य अखडाहरुमा आक्रमण गरिरहेको जानकारी छ । यो अक्टोबरमा इरानले इजरायलमाथि गरेको ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा आत्मरक्षाका लागि गरिएको कारवाही हो ।
बीबीसीका मध्यपूर्व क्षेत्रका संपादक सेबेस्टियन अशरका अनुसार १ अक्टोबरमा इरानले इजरायलमाथि प्रहार गरेको मिसाइल आक्रमणको जवाफमा यो आक्रमण भएको मानिएको छ । इरानले त्यस दिन इजरायलमाथि २०० यस्ता जमिनबाट जमिनमा मार गर्ने व्यालेष्टिक मिसाइल प्रहार गरेको थियो । ।
इरानका सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानको पश्चिमी इलाकामा विष्फोटका आवाज सुनिएको पुष्टि गरेका छन् ।
इरानी रिभोल्युसनरी गार्ड्स निकट एक समाचार एजेन्सीले दिएको जानकारी अनुसार तेहरानको पश्चिम र दक्षिण भागका केही सैन्य अखडामा आक्रमण भएको छ ।
सिरियाका सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य और दक्षिणी भेगका केही सैन्य अखडामा आक्रमण गरेको छ ।
यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले उहाँको एक फोटो सार्वजनिक गरेको छ , त्यसमा सैन्य आक्रमणको बेला उहाँ सैन्य मुख्यालयको सञ्चालन केन्द्रमा रहनुभएको छ ।


















