Prakash Adhikari October 30, 2024

काठमाडौं, १४ कार्तिक । साफ वुमेन्स चाम्पियनसिप २०२४ को फाइनल हेर्न दशरथ रंगशालाका पूरैटिकट बिक्री भएको छ । अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बेच्न मिल्न जति टिकट बिक्री भएको जानकारी दिएको छ ।

दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि नेपालले फाइनल खेलेको हेर्न विशिष्ट व्यक्तिहरु आउने भएकोले सुरक्षाको कारण देखाउँदै एन्फाले ११ हजार टिकट मात्र बिक्री गरेको हो । टिकटका लागि बिहान ३ बजेदेखि लाइन लागेकाहरुले पनि टिकट नपाएपछि फुटबल प्रेमीहरुलाई प्रत्यक्ष खेल देखाउन काठमाडौ महानगरपालिकाले वैकल्पिक व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले ट्वीटरमा लेख्नुभएको छ, “टिकट पाउनु हुने महानुभावहरु रंगशालामा गएर समर्थन गर्नु होला । काठमाडौमा हुने टिकट नपाउनेहरु हामीले टुडिखेल , सानो गौचरण तथा चाबहिल मा देखाउने ब्यबस्था गरेको छौ, नजिक हुनेहरु गएर सामुहिकरुपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ ।”

बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट लिन पुगेकाहरू निराश हुन थालेपछि महानगरपालिकाले तीन ठाउँमा लाइभ गर्ने व्यवस्था मिलाएको हो।

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ।

बिहानैदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री भएको थियो। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने कार्यक्रम छ ।

Share Now